काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले धरानका नागरिकको वर्षैदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् ।
आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि बजेट विनियोजन गर्न आग्रहसहितको माग पत्र पेश गरेपछि मन्त्री यादवले सो कुरा बताएका हुन् ।
मन्त्री यादवले भने, ‘धरानका नागरिकको खानेपानीको समस्याका विषयमा म सहित सिङ्गो मन्त्रालय जानकार छ । त्यहाँको खानेपानीको दीर्घकालीन रूपमा समाधान गर्नेतर्फ हामी लागि रहेका छौँ । समस्या समाधान गएका छौँ ।’
मन्त्री यादवले धरानको खानेपानीको समस्याका विषयमा आफू पहिलेदेखि नै जानकार रहेकाले त्यहाँको खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधानका लागि दातृ निकायसँगको सहयोगमा समाधान गरिने आश्वासन दिए ।
नगरप्रमुख साम्पाङ नेतृत्वको एक प्रतिनिधिमण्डलले धरानको खानेपानी समस्याबारे विशेष ध्यानाकर्षण गराउँदै आगामी आर्थिक वर्ष २०८२/०८३ मा धरानमा खानेपानीको लागि बजेट विनियोजन गरी दिनका लागि मात्र पत्र बुझाएका थिए ।
प्रतिक्रिया