+
Search

ताजा अपडेट +

पपुलर +

गाउँघरकाे सरकार

जनताप्रति उत्तरदायी र सुधारमुखी सरकार निर्माणमा प्रतिबद्ध छौँ : उपाध्यक्ष भुजेल

तस्बिर: अभिषेक तामाङ
पालिका लाइभ
२०८१ चैत्र २४, आईतवार १७:५३ गते

गोरखा– अजिरकोट गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलले स्थानीय सरकार जनताप्रति सधैँ उत्तरदायी र सुधारमुखी बन्नुपर्ने आवश्यकता औँल्याउँदै वर्तमान नेतृत्व त्यही मार्गमा अग्रसर रहेको बताएकी छन्।

गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन वर्षअघि गरेका बाचा र प्रतिबद्धता कार्यान्वयनतर्फ दृढताका साथ अघि बढिरहेको स्पष्ट पारिन्।

‘हामी निर्वाचित भइसकेको तीन वर्ष पुग्न लायाे। यस अवधिमा जनतासामु गरेका बाचा अनुसारका कामहरू गर्दै आएका छौँ,’ उनले भनिन्, ‘हामीले गरेका कामहरूलाई जनताले मूल्याङ्कन गरून् भन्ने चाहन्छौँ। आलोचना, सुझाव र गुनासाहरूलाई स्वागत गर्छौं।’

उनले स्थानीय सरकारलाई जनताको घरदैलोको सरकारको रूपमा परिभाषित गर्दै नागरिकहरूप्रति प्रत्यक्ष उत्तरदायी रहने प्रणालीको अभ्यासमा आफूहरू लागेको बताइन्। ‘राज्यका तिन तहमध्ये स्थानीय तह सबभन्दा नजिकको सरकार हो। त्यसैले हाम्रो जिम्मेवारी झनै बढी छ,’ उनले भनिन्, ‘जनताको आवश्यकता बुझेर सेवा पुर्‍याउनु नै हाम्रो मुख्य दायित्व हो।’

तस्बिर: अभिषेक तामाङ

उपाध्यक्ष भुजेलले जनप्रतिनिधिहरू पनि सामान्य व्यक्ति भएको भन्दै कामको सिलसिलामा गल्ती, कमजोरी हुन सक्ने स्वीकार गरिन्। तर, त्यस्ता कमजोरीहरू सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाइन्। ‘हामीमा केही कमी कमजोरी पक्कै छन्। तर हामी आलोचना र सुझावलाई सकारात्मक रूपमा लिँदै सुधार गर्दै अगाडि बढ्ने छौँ,’ उनले भनिन्।

कार्यक्रममा उनले जनतासँग प्रत्यक्ष संवाद गर्ने अवसरका रूपमा सार्वजनिक सुनुवाइलाई अर्थपूर्ण अभ्यासको रूपमा व्याख्या गरिन्। उनले भनिन्, ‘जनताको सुझाव, गुनासा र सूचनाको हामी सहज रूपमा उत्तर दिनेछौँ। हामी जनप्रतिनिधि मात्र होइन, जनताको सेवक पनि हौँ।’

सार्वजनिक सुनुवाइमा गाउँपालिकाका अन्य पदाधिकारीहरू, वडाध्यक्षहरू, कर्मचारी, स्थानीय बासिन्दा, युवा तथा महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि सेवा लगायतका विषयमा प्रश्न, सुझाव र गुनासाहरू राखेका थिए, जसमा सरोकारवाला निकायबाट प्रत्यक्ष रूपमा जवाफ प्रदान गरिएको थियो।

उपाध्यक्ष भुजेलले नागरिकसँगको संवादलाई अझ प्रभावकारी बनाउन गाउँपालिकाले आगामी दिनहरूमा सेवा प्रवाहमा पारदर्शिता र जबाफदेहिता कायम गर्न विशेष प्राथमिकता दिने बताइन्। ‘हामी जनतासँग सधैँ संवादमा रहनेछौँ, उनीहरूको विश्वास जित्दै सशक्त स्थानीय शासन प्रणाली निर्माण गर्ने हाम्रो लक्ष्य हो,’ उनले जोड दिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ