काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने जानकारी गराएका छन् ।
शनिवार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा ओलीले यसबारे जानकारी गराएका हुन् ।
पत्रकार सम्मेलनमा ओलीले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग मेरो भेटघाट अत्यन्त सुमधुर वातावरण र हार्दिकताका साथ भयो । यस पटक सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न । किनभने सगरमाथा संवादकै बेला युरोपको कार्यक्रम तय भइसकेको रहेछ । युरोपमा कार्यक्रमहरू तय भइसकेकाले बदल्न सक्ने अवस्था छैन । तर भारतबाट सगरमाथा संवादका लागि राम्रै प्रतिनिधित्व हुने जानकारी मोदीले गराउनुभएको छ ।’
उनले मोदीसँग भेट अत्यन्तै राम्रो र सुमधुर वातावरणमा भएको पनि बताए । उनले कुनै सानातिना छिमेकमा समस्या देखिए तत्काल एकआपसमा संवाद गरिहाल्ने र समस्याहरूलाई टुङ्ग्याई हाल्ने अठोट गरेको समेत बताए ।
उनले भने, ‘दुई प्रधानमन्त्रीका बिचमा पारस्परिक सहयोगका विभिन्न सहयोगहरूको सम्बन्धमा, लगानी, व्यापारका क्षेत्रहरूका सन्दर्भमा र पञ्चेश्वर लगायतका विषयहरू दोधारा चाँदनीमा महाकाली सिँचाई योजना गर्नेलगायतका विषयहरूमा कुरा भयो । दुई पक्षीय पारस्परिक हितका विषयमा कुराकानीहरू भए । हामीले एउटा अठोट गरेका छौँ । नेपाल–भारत सम्बन्धलाई अझ व्यापक, विस्तृत, सुदृढ गर्दै लाने र कुनै सानातिना छिमेकमा समस्या देखिए भने पनि एकआपसमा संवाद गरिहाल्ने र समस्याहरूलाई टुङ्ग्याइहाल्ने जस्ता कुराहरूका बारेमा गहिरो समझदारी गरेका छौँ । भेटघाट फलदायी भएको छ ।’
प्रतिक्रिया