+
Search

ताजा अपडेट +

पपुलर +

ऊर्जामन्त्री-कुलमान तनाव

कार्यसम्पादन मूल्यांकनमा सरकारले कुलमानलाई दियो ‘जिरो’ नम्बर

पालिका लाइभ
२०८१ फाल्गुन १९, सोमबार

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादनमा ‘जिरो’ नम्बर दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा गरेका कार्यसम्पादन मूल्यांकन आधारमा ‘जिरो’ नम्बर दिएको हो ।

घिसिङलाई समयमा विवरण नबुझाएको भन्दै शून्य नम्बर दिइएको कार्यसम्पादन मूल्यांकन समितिका एक सदस्यले बताएका छन् ।

समितिको संयोजक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका महासचिव जीवछ मण्डल हुन् ।

कुलमानले भने गत आर्थिक वर्षमा कार्यसम्पादन मूल्यांकनका आधारमा ९८.९९ नम्बर दाबी गरेका थिए । उनले सोही दाबी अनुसार मूल्यांकनका लागि कार्यसम्पादन सूचकाङ्क सहितको विवरण बुझाएका थिए ।

कुलमानले आर्थिक वर्ष २०७८/७९ मा कार्यसम्पादन मूल्यांकनका आधारमा ९४.२३ नम्बर र आर्थिक वर्ष २०७९/८० मा ९८.९४ नम्बर प्राप्त गरेका थिए ।

याे पनि,

‘कुलमानलाई हटाउनुपर्ने कुनै कारण छैन, फेरि ४ वर्षलाई नियुक्त गर्नुपर्छ’

गत आर्थिक वर्ष २०८०/८१ मा भने मन्त्रालयले कुलमानलाई कार्यसम्पादन मूल्यांकनका आधारमा ‘जिरो’ नम्बर दिएको छ ।

प्राधिकरणले आठ वर्षमा विद्युतीकरणमा ठुलो सफलता हात पारेको छ । आव २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीय अहिले ९९ प्रतिशत पुगेको कुलमानले बुझाएको कार्य सम्पादन मूल्यांकनमा उल्लेख छ ।

पछिल्लो समय ऊर्जा मन्त्री दीपक खड्का र कुलमान घिसिङबीच डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विषयमा विवाद भइरहेको छ ।अहिले दुईबीचको विवाद चरम उत्कर्षमा छ । मन्त्री र कुलमानबीच विवादका कारण २ महिनादेखि प्राधिकरणको सञ्चालक समितिको बैठक समेत बस्न सकेको छैन ।

मन्त्री खड्काले केही साताअघि पनि कुलमानलाई स्पष्टीकरण सोधेका थिए । तर, कुलमानले आफूलाई सरकारले नियुक्त गरेकोभन्दै मन्त्रालयलाई स्पष्टीकरण सोध्ने अधिकार नभएको जवाफ दिएका थिए ।

डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै कुलमानले बारम्बार उद्योगहरूमा लाइन काटेपछि वर्तमान सरकार र उनीबीच दरार उत्पन्न भएको थियो । सरकारले उद्योगमा लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ