काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र कुनै समस्या नभएको दाबी गरेका छन् ।
आइतबार अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले भने, ‘कर्जा प्रवाह बढिरहेको छ । निक्षेप जसरी नै कर्जा विस्तार पनि बिस्तारै भइरहेको छ । बैंकको लगानीमा सुधार भइरहेको छ । बैंक डुबे, अर्थतन्त्र समस्यामा छ भनेर प्रचार गरिएको छ । यस्ता नकारात्मक प्रचारले स्थान पाउनु हुदैन । बैंक र अर्थतन्त्र डुब्दैनन् । न अर्थतन्त्र धराशायी छ न त बैंक नै डुबेका छन् । हावादारी प्रचार गर्न हुँदैन । एकाध समस्या हुन सक्छन् तर त्यसको समाधान गर्न सकिन्छ । केही समस्या आयो भन्दैमा हामीले डुब्यो भन्दै प्रचार गर्न हुदैन ।’
आफू सरकारमा आउँदा ओरालो लागिरहेको अर्थतन्त्रलाई सुधार गरिरहेको उनको दाबी छ । यो सरकारले काम गर्नका लागि आवश्यक कानुन निर्माण गरेर अगाडि बढिरहेको मन्त्री पौडेलले जनाए ।
मन्त्रालयले प्रस्तुत गरेको तथ्यांकमाथि शंका नगर्न आग्रह गर्दै उनले भने, ‘अर्थ मन्त्रालय डेटामा चिटिङ गर्दैन । जे छ त्यही देखाउँछ । तथ्यले जे देखाउँछ (हरियोलाई हरियो अनि रातोलाई रातो ) नै देखाउँछ ।’
अधिकांश सार्वजनिक संस्थान जुन खालको समस्यामा गिजोलिएका छन् त्यसका लागि सरकारले सार्वजनिक संस्थानको व्यवस्थापन गरेर अब सञ्चालन गर्ने उनले आश्वासन देखाए ।
बिग्रेका अर्थतन्त्रलाई आफ्नो सरकारले सुधार गरेर यहाँसम्म ल्याएको समेत उनले दोहोराए । अर्थतन्त्रमा सुधारका कामहरू गर्न जारी राख्ने उनले बताए ।
भिडिओ
प्रतिक्रिया