पोखरा– रवि लामिछाने थुनामुक्त हुने भएका छन् । सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । अदालतको आदेशसँगै लामिछानेले अब बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने छन् ।
सो आदेश अघि कास्की जिल्ला अदालतको सुरक्षा व्यवस्था कडा पारिएको थियो । रवि लामिछानेसहितको मुद्दाको आदेश आउने भए पछि अदालत परिसर भित्र सुरक्षा व्यवस्था कडा गरिएको हो ।
कससँग कति मागियो धरौटी
सहकारी ठगी मुद्दाका ७ आरोपीलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।
न्यायाधीश राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका ७ जना आरोपीलाई धरौटीमा रिहा गर्न आदेश दिइएको हो ।
अदालतका सूचना अधिकारी अधिकारीका अनुसार लामिछानेलाई ६५ र गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक जोशीसँग ८५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
यसैगरी लीला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख, मिना गुरुङ र आरती गुरुङसँग ५–५ लाख, कृष्ण गुरुङसँग १ लाख धरौटी माग गरिएको अदालतका सूचना अधिकारीले जानकारी दिए ।
लामिछाने र जोशीबिरूद्द भने सहकारीको रकम गोर्खा मिडियामा लगेर संगठित रूपमा ठगी गरेको र गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको अभियोग उनीहरू विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा चलाइएको छ ।