काठमाडौं– सुपर बूढीगण्डकी (टाेम डाेगर) जलविद्युत आयोजनाको लागत ७ अर्ब २३ करोड रुपैयाँ अनुमानसहित वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक भएको छ।
गण्डकी प्रदेशको गोरखा जिल्ला चुमनुव्री गाउँपालिका वडा न १ र २ मा आयोजना निर्माण हुनेछ।
आयोजना निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि ७ दिनको समय राखेर सार्वजनिक गरेको हो।
आयोजनाको प्रस्ताव विद्युत् विकास विभाग रहेको छ। रिपोर्ट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत वन मन्त्रालयमा पेस भएको हो।
३४.३९ मेगावाट क्षमताको जलविद्युत आयोजना रन अफ दि रिभर प्रकृतिको रहेको छ। प्रस्तावित आयोजनाको डिस्जार्ज ११.४ घनमिटर प्रति सेकेण्ड, ग्रस हेड ३५६.११ मिटर र नेट ३४६.४२३ मिटर रहेको छ।
आयोजनाबाट वार्षिक १८६.९९ गिगावाट आवर ऊर्जा उत्पादन हुने रिपोर्टमा उल्लेख छ। आयोजनाको मुख्य संरचनाहरूमा वेयर, इन्टेक, ग्राभेल ट्र्याप एप्रोच क्याल, डिस्यान्डर हेडरेस टनेल, अडिट टनेल, सर्ज साफ्ट, प्रेशर साफ्ट विद्युतगृह, स्वीचयार्ड र टेलरेस पर्ने रिपोर्टमा उल्लेख छ।
आयोजनाको हेडरेस टनेलको लम्बाइ ४ हजार ७ सय ३८ मिटर र भूमिगत विद्युत् गृहको लम्बाई ९७ मिटर, चौडाइ १५.२ मिटर र उचाइ २७ मिटरको रहने छ। आयोजनाको कुल लागत ७ अर्ब २३ करोड ७९ लाख ८३ हजार रहेको छ। यसैगरी प्रतिमेगावाटको लागत २२ करोड ५४ लाख १२ हजार रुपैयाँ रहेको छ।
आयोजनाको लागत अन्य आयोजनाको भन्दा बढी देखिएको छ। सामान्यतः पछिल्लो समय निर्माण भइरहेको आयोजनाको लागत प्रतिमेगावाट १९ देखि २० करोड रुपैयाँको बीचमा रहेको छ। तर ,यसको प्रतिमेगावाट लागत साढे २२ करोड रुपैयाँ रहेको छ।
आयोजनाको निर्माण अवधि ४ वर्षको रहेको छ। आयोजनाबाट ४३ घरधुरी प्रभावित हुनेछन् भने ६ सय २४ वटा रुख कटानी हुने रिपोर्टमा उल्लेख छ।
आयोजनाको बाँधस्थल र जलाशय चुमनुब्रीमा पर्छ। जुन मनास्लु संरक्षण क्षेत्रमा पर्दछ।