प्युठान- माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनताका मुद्दा बोकेर माओवादी सुध्रिने हो भने आगामी चुनावमा पहिलो पार्टी बन्ने दाबी गरेका छन्।
स्वर्गद्वारी नगरपालिकाको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै पुनले माओवादीले पनि विगतमा गल्ती गरेको स्वीकार गरे।
माओवादी पार्टी टुटफुट र विभाजनको सिकार हुन पुगेको र सत्तामा पुग्दा जनताका कतिपय एजेन्डा छुट्न पुगेकाले त्यसबाट पाठ सिकेर अघि बढ्न तयार हुनुपर्ने उनले बताए।
आफैँलाई सुधारेर अघि बढ्न तयार भएमा आगामी २०८४ को चुनावबाट माओवादी केन्द्र पहिलो दल बन्ने सक्ने उनले दाबी गरे।
उपनिर्वाचनमा जनमतको हिसाबले माओवादी दोस्रो र प्रमुख, उपप्रमुख विजयी भएको हिसाबले पहिलो दल भएको दाबी गर्दै उनले आगामी चुनावमा माओवादी एक्लै लड्ने बताए।
जनताले माओवादी एक्लै एजेन्डामा टेकेर उभियोस् भन्ने चाहेको उनले बताए।
लोकतन्त्रको विकल्प अझ परिष्कृत लोकतन्त्र हुने उल्लेख गर्दै उपमहासचिव पुनले जनताले उठाएका प्रश्नको जवाफ दिने र कमजोरी सच्याएर परिमार्जन गर्दै आफूलाई पुष्टि गर्नुपर्ने बताए।
नयाँ भनिएका दलपनि विकल्पका रूपमा आउन नसकेको टिप्पणी गर्दै नेता पुनले सिद्धान्त, विचार, संस्कृति र इतिहास नभएकाहरू नयाँ दल र वैकल्पिक शक्ति हुन नसक्ने बताए।
‘माओवादीले आफूलाई पनि सच्याउनुपर्छ, जनताको विश्वास पूरा गर्नुपर्छ, जनताले विश्वास गरेका पनि छन्। माओवादीले विगतका गल्तीबाट पाठ सिक्नुपर्दछ। विगतमा संविधान र शान्ति प्रक्रियाका काम गर्नका लागि कांग्रेस-एमालेसँग मिल्नुपर्ने हाम्रो बाध्यता थियो। तर अहिले उनीहरूलाई यो परिवर्तन मन परेको छैन। उनीहरू पछि फर्कन खोजेका छन्। हामी त्यो मान्न तयार नभएकै कारण अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढालिएको हो।’
केही बिचौलियाहरूको काम गर्न छोडेर जनताको काम गर्न भनेरै सरकार छोडेको जिकिर गर्दै उनले कांग्रेस-एमालेको स्वार्थ मिलेकाले एक ठाउँमा आएको दाबी गरे।