रौतहट– विवादै विवादको घेरामा रहेको कटहरिया नगरपालिकामा मेयरद्वारा करोडौँ अनियमितता गर्ने खेल सुरु भएको भन्दै जनप्रतिनिधिहरूले पुनः तालाबन्दी गरेका छन्।
उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिहरूले मंगलवार दिउँसो कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेका हुन् ।
जनप्रतिनिधिहरूले मेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष सँगै योजना शाखा र लेखा शाखामा पनि तालाबन्दी गरेका छन्।
मेयर अजयप्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी मिलेर नगरको करोडौँ रुपैयाँ अनियमितता गर्ने दाउँमा रहेको भन्दै उनीहरूले तालाबन्दी गरेका छन्।
मेयर जैसवालको निर्देशनमा गत मंसिर २० गते नगरकार्यपालिका बोर्डको बैठक बसेको थियो। बैठकमा नगरपालिकामा करारको कर्मचारी भर्ना र इलाका प्रहरी कार्यालय कटहरियाको लागि आएको प्रस्तावमा सहमति हुन सकेको थिएन। बैठकमा केही वडाध्यक्षसहित कार्यपालिका सदस्यहरूले उपस्थितिमा हस्ताक्षर गरेका थिए। तर, सहमति नभएपछि मेयर जैसवालकै निर्देशनमा पुस ८ गते पुनः बैठकको लागि मौखिक सूचना गर्दै उक्त बैठक स्थगित भएको उपमेयर यादवले बत्ताइन।
उक्त सूचना अनुसार हिजो पुस ८ गते मेयर र अधिकृत नगरपालिकामा आएनन् । फोन गर्दा बाहिर छु भनेर जवाफ आएको उनकाे गुनासाे थियाे । यसैबीच मेयर जैसवालको इशारामा गत मंसिर २० गते भएको बैठकको निर्णय पुस्तिकामा प्रमुख प्रशासकीय अधिकृत जोशीले दर्जनौँ निर्णय लेखेर कार्यपालिका सदस्यहरू सँग हस्ताक्षर गराउने खेल भइरहेको उपमेयर यादवकाे दाबी छ ।
तालाबन्दी पछि जनप्रतिनिधिहरूले सञ्चारकर्मी सँग कुरा गर्दै मेयर जैसवालको घरमा बसेर प्रशासकीय अधिकृत जोशीले लेखेको निर्णयहरू सदर गराउन अहिले कार्यालय सहयोगी मार्फत कार्यपालिका सदस्यहरूको घर घरमा राती राती लागेर हस्ताक्षर गराई रहेको बताएका छन्।
हस्ताक्षर गराउन मेयर जैसवालले ती कार्यपालिका सदस्यहरूलाई विभिन्न प्रलोभन देखाई रहेको सहभागी कटहरिया ५ का वडाध्यक्ष सर्फलाल गुप्ताले दाबी गर्छन्।
कटहरियाको ९ वटै वडामा झन्डै ५० जना कर्मचारी करारमा कार्यरत छन् । करारका कर्मचारीहरूले २० महिनासम्मको तलब पाएका छैनन् ।मेयर जैसवाल उनीहरूलाई तलब ख्वाउनुको सट्टा केही दिन अघि एकै पटक सबैलाई बर्खास्त गरी ठुलो अन्याय गरेको जनप्रतिनिधिहरूले गुनासो छ।
कर्मचारी भर्ना गर्दा आर्थिक अनियमितता गर्नको लागि उनीहरूलाई तलब दिनुको सट्टा बर्खास्त गरेको आरोप लगाएका छन्। गत मंसिर २० गतेको बैठकमा कुनै निर्णय नभएको र सोही निर्णय पुस्तिका दुरुपयोग गरी गरिएको निर्णयहरू बदर नभएसम्म तालाबन्दी यथावत् रहने जनप्रतिनिधिहरूले अडान राखेका छन्।
सबै वडामा खटेका करारका कर्मचारीको तलब दिएपछि मात्र अर्को कर्मचारी भर्नाको सूचना प्रकाशन गर्नुपर्ने समेत माग गरिएको छ। सरकारको शाखा अधिकृत जस्तो कर्मचारी भएर पनि अधिकृत जोशी मेयर जैसवालको इशारामा नगरको करोडौँ रुपैयाँ भ्रष्टाचार गर्ने दाउमा रहेको उनीहरूले दाबी गरेका छन्।
उपमेयर यादवको नेतृत्वमा तालाबन्दी गर्ने टोलीमा कटहरिया १ का वडाध्यक्ष भूपेन्द्र महतो, २ का वडाध्यक्ष हरेन्द्र शाह, ४ का वडाध्यक्ष चन्दन कुशवाहा, ५ का सर्फलाल गुप्ता, ६ का जयराम चौधरी, ७ का महमद सहिद वडासदस्य रामेश्वर यादव लगायतको सहभागिता रहेको थियो।
२०७४ को स्थानीय निर्वाचनमा कटहरियामा कांग्रेसबाट मेयरमा जैसवाल, उपमेयर यादव सहित वडा ५, ७, ८ र ९ का वडाध्यक्ष निर्वाचित भएका थिए।