काठमाडाैं– धार्मिक, सांस्कृतिक, र ऐतिहासिक गुठी सम्पत्तिको संरक्षण, व्यवस्थापन र सञ्चालनका निम्ति स्थापित स्वायत्त निकाय हो, ‘गुठी संस्थान’ । स्वायत्त भएपनि कुशल प्रशासकीय नेतृत्वको अभावमा यस संस्थानको ऐतिहासिक महत्त्व ओझेलमा पर्दै आएको थियो ।
तर, गुठी प्रशासकका रूपमा शैलेश राज कुँवरले प्रशासकीय नेतृत्व लिएसँगै संस्थानले ‘काँचुली’ फेर्न थालेको छ ।
कुँवर संस्थानको नेतृत्वमा पुगेको वर्षदिन पनि भएको छैन । तर, नेतृत्वमा आफूले ‘लिड’ गरिरहेको संस्थाको चौतर्फी विकास र व्यवस्थित गर्ने दृढ इच्छाशक्ति भएमा छोटो समयमै धेरै गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन्, गुठी प्रशासक कुँवर ।
कुँवरले कार्यभार सम्हाल्दा गुठी संस्थान सूचना प्रविधिमा अस्तव्यस्त थियो । कार्यालयको वेबसाइट भएपनि ‘बिरालो बाँधेर श्राद्ध’ गर्ने भने जस्तै थियो । प्रविधिमैत्री थिएन । नगदी रसिद काटिन्थ्यो । कार्यालयका फाइलहरू अनलाइन प्रणालीमा राखिने चलन नै थिएन । फाइल हराउने देखि खोजेको समयमा नभेटिने गरेको जस्ता गुनासा बाक्लै आउँथ्यो । संस्थान सम्बन्धी आवश्यक ऐन, कानुन र सूचना प्राप्त गर्नका लागि आम सेवाग्राहीहरूका लागि त्यति सहज थिएन ।
उनले संस्थानको प्रशासकीय नेतृत्व लिएसँगै सुरुमा यी तमाम समस्या र कमीकमजोरीहरू सुधार्ने सोच लिए । मातहतका सबै कर्मचारीहरू सँग आवश्यक छलफल गरे । अनि, तत्कालै संस्थानलाई प्रविधिमैत्री बनाउन गर्नुपर्ने कामहरूको लिष्टिङ तयार पारे । त्यसका लागि आवश्यक बजेटको स्रोत, कार्य योजना र रणनीति तय भयो । सोही अनुसार अहिले धमाधम काम भइरहेको छ ।
कार्य योजना तयार भएर काम थालेको छोटो समयमै कार्यालयले सूचना तथा प्रविधिमा उल्लेखनीय प्रगति गरिसकेको छ ।
‘आजको युगमा विज्ञान प्रविधिको हो । त्यसैले यसमा जो अगाडी छ । जसले यसको भरपुर प्रयोग गर्दछ त्यसले नै छोटो समयमै थुप्रै महत्त्वपूर्ण सफलता र उपलब्धि हासिल गर्छ । चाहे त्यो विश्वको जुनसुकै देश होस्, व्यक्ति होस् वा सरकारी, गैरसरकारी संस्था नै किन नहोस्’, कुँवरको बुझाई छ ।
कुँवरको यही बुझाइले ‘गुठी संस्थान’ लाई उदाहरणीय प्रविधिमैत्री सरकारी कार्यालयको रूपमा स्थापित गर्दैछ ।
संस्थानको सूचना तथा प्रविधि शाखामा कार्यरत सब-इन्जिनियर सुदिप खड्काका अनुसार अहिले कार्यालयले नयाँ व्यवस्थित वेबसाइट देखि महत्त्वपूर्ण सिस्टम ल्याइसकेको छ । जसले सेवा प्रवाहलाई छिटो छरितो मात्रै नभएर पारदर्शी बनाउँछ ।
वेबसाइटमा अन्य सरकारी कार्यालयहरूको भन्दा फरक डिजाइन र पृथक् विषयवस्तु राखिएको छ । जहाँ कार्यालयको विस्तृत परिचय, ऐन कानुन, पर्वहरू बारे जानकारी, सम्पूर्ण कार्यालय र कर्मचारीको विवरण देखि अनलाइन गुनासो गर्न सक्ने सम्मको सुविधा छ ।
‘अहिलेको समयमा वेबसाइट भनेको कार्यालयको आँखी झ्याल हो । त्यसैले हामीले त्यसमा कार्यालय सम्बन्धी हरेक सूचना तथा विवरणहरू सहजै सबै सेवाग्राहीहरूले हेर्न सक्ने गरी डाटाहरू राख्दै छौँ । अहिले काम भइरहेको छ । यसलाई अझै उत्कृष्ट बनाउने गरी डेभलव गरिरहेका छौँ’, खड्काले सुनाए ।
कार्यालयले कूतवाली तथा मालपोत देवस्व असुली लाई पनि अनलाइन मार्फत गर्दैछ भने घर नक्सा सिफारिस पनि अनलाइन मार्फत नै हुने व्यवस्था गर्दैछ ।
त्यसका लागि (GBBS) र (GLMS) सिस्टम परीक्षण गरेर कार्यान्वयन गर्ने तयारीमा छ ।
‘उपत्यका भित्रका गुठी संस्थान शाखा कार्यालयहरूमा कूतवाली तथा मालपोत असुलीको अनलाइन सफ्टवेयरको परीक्षण भइरहेको छ । सम्भवतः आगामी माघदेखि मातहतका सबै कार्यालयहरूमा र त्यसपछि मालपोत कार्यालयहरूमा पनि सञ्चालनमा आउने ल्याउनेछौँ’, संस्थानका प्रवक्ता हरि प्रसाद सुवेदी भन्छन् ।
संस्थान मातहतको हरेक कार्यालयमा सिसिटिभी अनिवार्य राखिँदै छ । डिजिटल सूचना पाटी स्थापना गरिँदै छ । ई-हाजिरी सिस्टम पनि लागु हुँदै छ । जसको मनिटर्रनिङ केन्द्रीय कार्यालयले गर्नेछ । र, मातहतका कर्मचारीहरूले काममा ढिलासुस्ती गरे वा बिदामा बाहेक अन्य दिन कार्यालय आएनन् भने केन्द्रीय कार्यालयले सिधै स्पष्टीकरण सोधेर आवश्यक कारबाही गर्नेछ ।
यस्तै, संस्थानले एक पटक कार्यालयमा आएपछि अर्का पटकबाट घरबाटै सहजै थुप्रै सुविधाहरू लिन सक्ने सिस्टम ल्याउने तयारीमा छ ।
सब-इन्जिनियर खड्का भन्छन्, ‘एक पटक सेवाग्राहीले आफ्नो लालपुर्जा, नागरिकता र देवस्व तिरेको रसिद लिएर कार्यालय आउनु भयो भने अर्को पटकबाट उहाँहरूले देवस्व तिर्न, घर नक्सा बनाउन कार्यालय आइराख्नै पर्दैन । सबै अनलाइनबाटै घरमै बसिबसी गर्न सक्ने बनाउने तयारीमा छौँ ।’
प्रविधिमैत्री बनेसँगै बढ्दै छ देवस्व
गुठी संस्थानको प्रमुख आयस्रोत भनेको तैनाथ जग्गा हो ।
जसबाट प्राप्त आम्दानी रकमलाई संस्थानले आफ्नो कार्यक्षेत्रमा पर्ने मठ मन्दिरको संरक्षण, धार्मिक गतिविधि, र सामाजिक काममा प्रयोग गर्ने गर्छ । सँगै, घर नक्सा सिफारिस शुल्क, कुतवाली तथा मालपोत असुलिबाट संस्थानको मुख्यतः देशव्व आर्जनका स्रोतहरू हुन ।
त्यसको अभिलेखीकरण व्यवस्थित नहुँदा र नगदी रसिद प्रणाली रहँदासम्म संस्थानको आयव्यय पारदर्शी नहुने गरेको कार्यालयका पुराना कर्मचारीहरू नै बताउँछन् ।
तर, अहिले गुठी संस्थानमा देवस्व अनलाइन प्रणालीबाटै भुक्तानी गर्ने सिस्टम लागु हुँदै छ छ । नगद रसिद काट्ने प्रचलनको अन्त्य भइसक्यो । जसका कारण संस्थानको आय बढ्न थालेको छ ।
‘प्रविधिमैत्री बन्दा हरेक कामहरू पारदर्शी हुनेछ । कर्मचारीहरूले पनि गलत नियत राखेर चलखेल गर्न सक्ने अवस्था हुँदैन । किनकि, हरेक कुरा सिस्टम अनुसार नै हुन्छ । त्यसैले देवस्व स्वतः बढ्नेछ’, प्रशासक कुँबर भन्छन् ।
कार्यालयले सेवा शुल्क तथा भुक्तानी रकम अनलाइन प्रणालीबाट मात्रै लिन थालेपछि गत २०८० असोज २१ गतेदेखि असार मसान्तसम्म घर नक्सा सिफारिस शुल्क बापत मात्रै ७० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेको जनाएको छ । यस वर्ष पनि उक्त शीर्षकमा २० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरिसक्यो । अन्य, शीर्षकमा पनि पहिलेका वर्षमा भन्दा प्रविधिमैत्री बनेपछि आयस्रोत बढेको कार्यालयले जनाएको छ ।
संस्थानको दिर्धकालिन हित र विकासका निम्ति आफूले हर सम्भव: प्रयास गर्ने कुँवरको प्रतिबद्धता छ । जसमा कर्मचारीहरूले पनि खुलेर साथ दिएका छन् ।
कर्मचारीहरूलाई पनि संस्थानले आवश्यक तालिम दिइरहेको छ । रिक्त पदमा समयमै पदपूर्ति हुन नसक्दा कम जनशक्तिले काम गर्नुपर्ने बाध्यता ‘ज्युँ का त्युँ’ छ । त्यसका लागि कर्मचारी विनियम जतिसक्दो छिटो पास गराएर सहज वातावरण बनाउनका निम्ति प्रशासक कुँवरले चर्को दौडधुप गरिराखेका छन् । कर्मचारीहरू पनि छिट्टै विनियम पास भएर पदपूर्ति हुने आशमा छन् ।
यद्यपि, प्रविधिमैत्री हुँदै कम जनशक्तिले पनि सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन कुँवरको नेतृत्वमा कर्मचारीहरू लागिपरेका छन् ।
‘कार्यालयलाई एक्कासि प्रविधिमैत्री बनाउन जटिल त छँदैथ्यो । तर, कुँबर सरले नेतृत्व लिएपछि आवश्यक तालिम लिएर काम गर्न थालेपछि सजिलो र छिटो पनि भएको छ’, कार्यालयमा कार्यरत एक कर्मचारीले भने, ‘कतिपय नयाँ कर्मचारीहरू त उत्साहित छन् । पुरानाहरू जे कहिल्यै प्रविधिको प्रयोग गर्ने गरेका थिएनन् । उनीहरूले पनि सुरुमा अप्ठ्यारो मानेपनि तालिम लिएर काम थालेपछि खुसी नै छन् ।’