काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको सरकार ढल्छ भन्नु काग कराएजस्तै भएको टिप्पणी गरेका छन् । आइतबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता समेत रहेका गुरुङले यस्तो बताएका हुन् ।
‘राष्ट्रिय संकट निवारणका लागि हामी दुई पार्टी भइरहनुपर्छ भन्ने ठानेसम्म यो सरकार ढल्दैन । काग त कराउँदै गर्छ, पिनास सुक्दै गर्छ, हात्ति लम्किँदै गर्छ, कुकुर भुक्दै गर्छ । यो यस्तै हो । सरकार गिर्छ, सरकार गिर्छ भनेको काग कराए जस्तै हो । यो सरकार चलिरहन्छ,’ उनले भने ।
अहिलेको सरकार बनेको मन नपराउनेहरुले नै सरकार ढल्ने भ्रम फैल्याएको उनको आरोप थियो । राष्ट्रिय संकट निवारणका दुई राजनीतिक दलबीच सहमति भएकाले सरकार ०८४ सम्मै टिक्ने दाबी उनले गरे ।
‘सरकार बनेको दिनदेखि दुई वटा कुरा चलिरहेको हुन्छ, यो सरकार ढल्दैन र यो सरकार ढल्छ भन्ने । सबै पार्टीले छोडेर गएपनि दुई ठूला राजनीतिक दलहरू मिलेका छौँ । त्यसैले यो सरकार ढल्दैन । किनभने १६७ सिट त हुन्छ । तेस्रो, चौथो पार्टीलाई गुहारि राख्न परेन । सांसदहरूको चाकडी गरिरहनु परेन, मन्त्री, पार्टीका नेताहरूलाई फकाइराख्नु परेन,’ उनले भने ।