काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू विपक्षी दलको नेताको हैसियतमा पुगेसँगै निर्वाचन क्षेत्रमा आवतजावत गर्न पनि स्वतन्त्र भएको बताएका छन् ।
गोरखा–ताकुकोट सेवा समाज काठमाडौंको साधारण सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री भएको बेलामा भन्दा अहिले आफूलाई थप सुविधा भएको बताए ।
उनले भने, ‘म गोरखाबाट निर्वाचित भएर प्रधानमन्त्री भएपछि मैले केही राष्ट्रिय मानकहरु बनाउने जमर्को गरें, सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध सामाजिक न्यायको पक्षमा, गम्भीर आर्थिक संकटमा रहेको देशलाई विस्तारै लयमा फर्काउने र राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा देशको प्रतिष्ठा र हितको निम्ति वातावरण बनाउन धेरै मेहनत गरें । म प्रधानमन्त्री भएपछि गोरखावासीको अपेक्षाअनुसार काम गर्न केही कमी भएको महसुस भएकै थियो, तर मैले देशको प्रतिष्ठा बढाउने धेरै काम गरिरहेको थिएँ । अहिले मैले फेरि अवसर पाएको छु ।’
उनले गोरखाको विकासको लागि आफूले काम गरिरहेको बताए ।
प्रचण्डले थपे, ‘जडिबुटी प्रशोधन, रुग्ण उद्योग सञ्चालन, बुढीगण्डकी परियोजना अगाडि बढाउने, गोरखकाली रबर उद्योग सञ्चालन गर्ने सबै विषयमा म प्रधानमन्त्री हुँदा महत्वपूर्ण निर्णय गरेको छु, तर अहिलेको सरकारले त्यसलाई अगाडि बढाउने भन्दा पनि निजीकरण गर्न खोज्दैछ ।’
उनले बारपाक-सुलिकोटलगायतका क्षेत्रमा पुलदेखि सडक निर्माणसम्मको कामका लागि पहल गरिएको जानकारी गराए । २०७४ को चुनावमा चितवन क्षेत्र नम्बर ३ बाट जितेका उनले यसपटक गोरखा २ बाट निर्वाचित भएका थिए ।