काठमाडाैं- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिले संचालित आयोजनाहरुमा सरकारले आर्थिक स्रोत जुटाउन नसक्दा निर्माण उद्योग धराशायी बनेको आरोप लगाएका छन्।
नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारण सभामा उनले उनले भने, ‘सरकारले स्रोत जुटाउन लाग्नु पर्ने हो। तर स्रोत जुटाउने कुरामा काम भइरहेको छैन। अहिले सरकारले काम गरेको भुक्तानी समेत दिन सकिरहेको छैन।’
उनले अर्थ मन्त्रालय र विभागीय मन्त्रालयको समन्वय नहुँदा व्यवासयीले दु:ख पाइरहेको आरोप लगाए।
‘अर्थ मन्त्रालय र विभागीय मन्त्रालयले भुक्तानीको विषयमा निर्णय लिन सकेका छैनन। सरकार कै कारण निर्माण उद्योग धराशायी भएको छ,’ उनले भने।
भिडिओ
निर्माण उद्योगमा लागेका व्यवसायीहरु अहिले काम गर्न सक्ने अवस्थामा नभएको उनको तर्क छ।
‘हामीले तर्नुपर्ने रकम दिन सकिरहेका छैनौ। निर्माण उद्योग चलायमान गर्नको लागि पूँजी चलायमान गर्नुपर्छ। चालु काम सुरु गर्न बजेटको व्यस्थापन गर्नु पर्छ। हिजो गरेका सम्झौताहरुमा पनि सरकारले प्राथमिकरण गर्न सकेको छैन। स्रोत नभएको आयोजनाहरु खारेज गरेर सरकारले यसलाई फरफारक गर्नु पर्छ,’ उनले भने।
निर्माण उद्योग अहिले संचालन हुन कठिन रहेको भन्दै उनले सार्वजनिक खरिद नियमावली पटक पटक संशोधन गर्दा पनि जटिलता थप बढेको उनको दाबी छ। उनले सिमेन्ट उत्पादकहरुको कार्टेलिङका कारण सिमेन्ट महंगोमा हालेर पूर्वाधार निर्माण गर्न कठिन बनाएको समेत बताएका छन्।