काठमाडौं– जयकिशन कोस्लावाला र विलियम बासिस्टोको अर्धसतक प्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल)को इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा छनोट भएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरका चितवनले ९ विकेट गुमाउँदा मात्र १५४ रन बनायो ।
अब, फाइनल प्रवेशको लागि कर्णालीले आज नै हुने पहिलो क्वालिफायर्समा सुदूरपश्चिम र जनकपुरबीचको पराजित टोलीसँग खेल्नेछ । दोस्रो क्वालिफायर बिहीबार हुनेछ ।
लक्ष्य पछ्याएको चितवनको लागि इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय खेलाडी रवि बोपराले सर्वाधिक ५३ रन बनाए । उनले ३४ बलमा तीन चौका र ४ छक्का प्रहार गरेका हुन् । बोपराले एनपिएलमा तेस्रो अर्धसतक पूरा गरेका हुन् । बोपराले पोखरा र कर्णालीविरुद्ध नै अर्धसतक बनाएका हुन् । उनलाई नन्दन यादवले गुल्शन झाबाट क्याच आउट गराए । कप्तान कुशल भुर्तेलले २१ रन, ओपनर विपिन रावलले १८, लक बेन्केनस्टेइनले १६ रनको योगदान गरे ।
यसअघि ओपनर हसन इसाखिल १ रन बनाएर आउट भएका थिए । सन्तोष कार्कीले ८, साहेल तनविरले ९, अमरसिंह रौटेलाले ९ रन बनाएका थिए । रिजन ढकाल ७ रन बनाए । शरद भेषावकर १० रनमा अविजित रहे ।
कर्णालीको लागि स्पिनर जिसन मक्सूद र तिव्रगतिका बलर नन्दन यादवले समान तीन विकेट हात पारे । कप्तान सोमपाल कामीले दुर्य विकेट लिए । युवा स्टार विपिन शर्माको नाममा एक विकेट रह्यो ।
पहिलो इनिङमा कर्णालीको लागि जयकिशन कोस्लावाला र विलियम बासिस्टोले अर्धसतक बनाएका थिए । जयकिशनले ५३ तथा बासिस्टोले ५२ रन बनाए । चाडविक वाल्टनले ४६ रनको योगदान गरेका थिए । अन्तिम बलमा चौका प्रहार गर्न नसक्दा वाल्टन आफ्नो पहिलो अर्धसतक बनाउनबाट चुके । वाल्टनले २३ बलमा चार चौका र तीन छक्कासहित ४६ रन बनाएका हुन् ।
पहिलो खेल खेलिरहेका ओपनर जयकिशनले ३९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५३ रन बनाए । यसअघि जयकिशनले ३६ बलमा ६ चौका र २ छक्कासहित अर्धसतक बनाएका हुन् । उनले ११.३ ओभरमा अर्धसतक बनाउँदा कर्णालीले दुई विकेट गुमाएर ८६ रन बनाएको थियो । तेस्रो विकेटको लागि जयकिशनले अस्ट्रेलिया यु१९ टिमका पूर्व कप्तान विलियम बासिस्टोसँग ५९ रनको साझेदारी पनि गरेका थिए । ४.६ ओभरमा कर्णालीले ३५ रन बनाउँदा दोस्रो विकेटको रुपमा जिसन मक्सूद आउट भएका थिए ।
बासिस्टोले ३९ बलमा तीन चौका र दुई छक्का बनाएका हुन् । उनले सोहल तनविरबाट बोल्ट हुनुअघि ३७ बलमा अर्धसतक बनाए । ३१ वर्षीय अस्ट्रेलियन खेलाडीले विराटनगर किंग्सविरुद्ध पनि ६६ रन बनाएका थिए ।
यसअघि भारतीय चर्चित खेलाडी शिखर धवनले कर्णाली याक्सको लागि चार खेल खेलेर घर फर्किएका थिए । उनको स्थानमा जयकिशनलाई कर्णाली याक्सले मंगलबार राति मात्रै टिममा समावेश गरेको हो ।
एनपिएलमा पहिलो खेल खेलेका भारतीय जयकिशन कोस्लावालालाई कर्णालीले रित गौतमसँगै ओपनिङमा पठाएको थियो । ३५ वर्षीय गुजराती खेलाडीले यसअघि सन् २०१८ मा ललितपुर प्याट्रिओट्सको लागि इपिएल उपाधि जिताएका थिए । फाइनलमा ५७ रन बनाएका थिए । एनपिएलमा बनेको यो २३औं अर्धसतक हो । यसअघि लिग चरणमा एक सतकसहित २२ अर्धसतक बनेका थिए ।
कर्णालीका २३ वर्षीय ओपनर रित गौतम दोस्रो खेलमा पनि गोल्डेन डकआउट भए । यसअघि पहिलो पटक सुदूरपश्चिमविरुद्ध पनि उनी गोल्डेन डकआउट भएका थिए ।
तेस्रो नम्बर क्रिजमा आएका जिसन मक्सूदले १२ बलमा समान एक चौका र एक छक्कासहित १४ रनको योगदान गरेका थिए । उनलाई शरद भेषावकरले रञ्जित कुमारले क्याच आउट गराएका हुन् । आशा गरिएका गुल्शन झा तीन बल खेलेर डक आउट भएका हुन् । तीन रन बनाएका देव खनालपनि रन आउट भएका थिए ।
चितवनको लागि सोहेल तनविरले दुई तथा शरद भेषावकर, रवि बोपरा र कुशल मल्लले समान एक विकेट हात पारे ।
लिग चरणमा कर्णालीले याक्सले चितवनलाई ६ विकेटले हराएको थियो ।
यसअघि चितवन लिग चरणमा तेस्रो र कर्णाली चौथो हुँदै इलिमिनेटरमा छनोट भएका थिए । काठमाडौं, लुम्बिनी, विराटनगर र पोखरा भने लिग चरणबाटै बाहिरिएका हुन् ।