काठमाडौं– नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण र धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रियामा घोटाला तथा भ्रष्टाचार भएको भन्दै राजन शर्मा बुढाथोकीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन् ।
सोमबार उनले धितोपत्र बोर्डमा नियुक्ति प्रक्रियामा घोटाला भएको कुरा प्रधानमन्त्रीले समेत आरोप लगाएको भन्दै अख्तियारले यस विषयको मुद्दा फैसला गरोस् भनेर निवेदन दर्ता गरेको बताए ।
उनले भने, ‘कि त देश छोडेर जानुपर्यो नजाने हो भने देश बनाउने जिम्मेवारी हामी युवाहरूको हो । हामी यसका लागि अगाडि आउनुपर्छ भनेर स्वतन्त्र युवाहरूले एउटा भ्रष्टाचार विरुद्धको नागरिक अभियान चलाउन खोजिरहेका छौ । त्यसको लागि धितोपत्र बोर्डमा नियुक्ति प्रक्रियामा घोटाला भएको छ भनेर प्रधानमन्त्रीले समेत आरोप लगाउनुभएको छ । यही विषय नै के हो भनेर अख्तियारमा मुद्दा फैसला गरोस् भनेर निवेदन दर्ता गर्न आएको हो ।’
उनले जस्तो व्यवस्था आए पनि नेपाली जनताको आर्थिक रूपमा उन्नति हुन नसकेको भन्दै यसको मुख्य कारण भ्रष्टाचार नै भएको बताए ।
उनले भने, ‘देशमा हामीले जति पनि परिवर्तनका कुराहरू गर्यौ, युवाहरूलाई लिएर जति पनि आन्दोलन भए तर त्यसलाई आर्थिक रूपमा लान सकेनौ । गणतन्त्र, लोकतन्त्र जे आए पनि नेपाली जनताको आर्थिक रूपमा उन्नति हुन सकेन । यसका सबै कारण भ्रष्टाचार हो । तर भ्रष्टाचारका कुराहरू कहिले पनि बाहिर नआउने र कारबाही पनि नहुने काम निरन्तर चली रहेको छ ।’