काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ । आयात १.१ प्रतिशतले बढेको छ भने निर्यात ५.१ प्रतिशतले घटेको छ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५.२ प्रतिशतले वृद्धि भई २६३ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६,४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४०,५८३ रहेको आज जारी गरेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४,४५५ र ३२,००४ रहेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २८६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २५१ अर्ब ६५ करोड रहेको थियो ।
शोधनान्तर स्थिति रु.१०१ अर्ब ७७ करोडलेबचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु.२१५२ अर्ब ५३ करोड र अमेरिकी डलरमा १६ अर्ब ४ करोड रहेको छ । नेपाल सरकारको खर्च रु.१३७ अर्ब ५५ करोड र राजस्व परिचालन रु.१६६ अर्ब ३९ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ०.४ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.९ प्रतिशतले बढेको छ ।
यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.५ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.४ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेको छ ।
पूर्णपाठ