काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीबार भएको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा विराटनगरले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको हो ।
विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो । एनपिएलमा आजको पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच भएको हो । दुवै टोली पाँचौँ खेल खेल्दै गर्दा दोस्रो जितको खोजीमा रहेका छन् ।
विराटनगरका स्कट इडवार्डले ४५ रन बनाउँदा विराटनगरले सम्मानजनक योगफल तयार गरेको हो।
यही खेलमा डवर्डले विराटनगरका लागि सर्वाधिक रन बनाए। उनले ३५ बलमा ५ चौका प्रहार गरेपछि पोखराका कप्तान कुशल भुर्तेलको बलमा एलबीडब्लु धरापमा परे।
ओपनर लोकेश बम २६ रन बनाउँदा रेमोन रेइफरको बलमा कट एन्ड बोल्ड हुन पुगे। उनले १६ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए।
निकोलस किर्तोन १९ रन बनाउँदा सागर ढकालको बलमा माइकल लिस्कको हातबाट क्याच आउट भए। बसिर अहमद २१ रनमा नटआउट रहे। विराटनगरका चार ब्याटरले मात्र दोहोरो अंकको स्कोर छुन सके।
पोखराका लागि सागर ढकाल र रेमोन रेइफरले समान २ विकेट लिए। कुशल भुर्तेल र दिनेश खरेलले समान एक विकेट आफ्नो नाममा गरे।
पोखराले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।
आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ । लुम्बिनी लायन्स बुधवार प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो ।