काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले मुलुकको अर्थतन्त्र समस्यामा रहेको बताएका छन् ।
बुधवार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले नेपालको अर्थतन्त्र दबाबमा रहेको बताएका हुन् ।
उनले भने, ‘हाम्रो अर्थतन्त्र अहिले समस्यामा छ र दबाबमा छ । यसलाई कसैले पनि अस्वीकार गर्न सक्दैनौँ । तर अर्को कुरा के हो भने हामी दबाबबाट बाहिर निस्कन खोजिरहेका छौँ । समस्याबाट बाहिर निस्कन खोज्दैछौं । हाम्रो प्रयासहरू त्यसतर्फ अभिमुख छन् र क्रमशः सफलतातिर उन्मुख छौँ । समस्या समाधानका कारण पनि क्रमशः प्रभावकारी बन्दैछन् ।’
साथै उनले नेपालमा लगानीका लागि अनुकूल वातावरण सिर्जना हुँदै गएको दाबी गरे । उनले सार्वभौम क्रेडिट रेटिङमा नेपालमा लगानीका निम्ति अनुकूल वातावरण सिर्जना भएको सन्देश विश्व समुदायमा गएको बताए ।
उनले अहिले मुलुकको अर्थतन्त्र सुधारतर्फ अघि बढे पनि दबाबमुक्त भने भई नसकेको जिकिर गरे । राजस्व छुटका विषयमा मन्त्रालय होसियार रहेको र राजस्व चुहावट रोक्न समेत ध्यान केन्द्रित गरेको उनको भनाइ छ ।
उनले भने, ‘नेपालमा लगानीका लागि अनुकूल वातावरण सिर्जना हुँदै गएको छ । सार्वभौम क्रेडिट रेटिङमा नेपालमा लगानीका निम्ति अनुकूल वातावरण सिर्जना भएको सन्देश विश्व समुदायमा गएको छ । राजस्व छुटका विषयमा मन्त्रालय होसियार छ र राजस्व चुहावट रोक्न समेत ध्यान केन्द्रित छ ।’
यसैगरी उनले अहिले बैंकहरूमा थुप्रिएको रकम उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी गर्नका लागि आवश्यक पहल भइरहेको पनि बताए । उनले सहकारी लघुवित्त समस्याका विषयमा धेरै छलफल भएको समेत स्पष्ट पारे ।