काठमाडौं- प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
साधारण सभाले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्तावलाई अनुमोदन गरेको हो ।
बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रहेको छ । सो सभामा सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल १ खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात् २०.६९ प्रतिशतले वृद्धि गरी कुल २ खर्ब १५ अर्ब ५१ करोड पुर्याएको छ ।
बैंकले सञ्चालन मुनाफामा पनि गत वर्ष भन्दा १७.७२ प्रतिशतले वृद्धि गरी कुल ७ अर्ब ५१ करोड आर्जन गरेको छ ।
साधारण सभामा शेयरधनीहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्जिव मानन्धरले बैंकले प्रतिकूल परिस्थितिका बीच निक्षेप तथा कर्जा प्रवाहका साथै खुद ब्याज आम्दानी, शुल्क र कमिशन आम्दानी एवं गैह्र कोषमा आधारित अन्य आम्दानी समेतमा उल्लेखनीय बृद्धि गर्दै लगेको जानकारी गराए ।