खोटाङ– लगानी अभावका कारण व्यवसाय गर्न नपाएका तथा ऋण लिएर ब्याज तिर्न नसकिरहेका नगरवासीलाई आफ्नै गाउँमा स्वरोजगार बनाउने उद्देश्यले ब्याज अनुदान कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।
व्यवसाय सञ्चालन गर्न चाहने तथा गरिरहेका नगरवासीले बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण प्रक्रिया पूरा गरेर सम्झौताका लागि नगरपालिकामा सम्पर्क गर्नुपर्ने कार्यपालिकाबाट पारित कार्यविधिमा उल्लेख छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका तथा गर्न चाहने नगरवासीका लागि ब्याज अनुदान कार्यक्रम लागू गरेको हो ।
कृषि, पशुपालन, लघु उद्यम, होम–स्टे घरवास, दुनाटपरी, पुष्प खेती, मौरीपालन, फलफूल खेती, फलफूल प्रशोधन केन्द्र, दूध डेरी सञ्चालनलगायत क्षेत्रमा लगानी गरेका तथा गर्न चाहने व्यवसायीलाई ब्याजमा अनुदान दिने कार्यक्रम ल्याइएको नगरप्रमुख विमला राईले जानकारी दिइन् ।
उनका अनुसार व्यवसाय सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थाबाट नगरवासीले लिएको ५ लाख रुपैयाँसम्मको ऋणको ब्याज अनुदानको रूपमा नगरपालिकाको तर्फबाट तीन वर्षसम्म तिरिदिने छ ।
यो कार्यक्रममा महिला, एकल महिला, दलित र वैदेशिक रोजगारीबाट फर्केका नगरवासीलाई पहिलो प्राथमिकतामा राखिएको छ ।