मकवानपुर– मकवानपुरगढी गाउँपालिकाले बाँझो जग्गाको उपयोग गरी कृषिमा आत्मनिर्भर बनाउने योजना अघि बढाएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ को स्वीकृत कार्यक्रम अनुसार कृषियोग्य जग्गाको उपयोगिता बढाउने र कृषकलाई कृषिमा आत्मनिर्भर बनाउने योजना अघि बढाएको हो ।
गाउँसभाबाट स्वीकृत कार्यक्रम अनुसार चालु आर्थिक वर्षदेखि बाँझो जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई गाउँपालिकाले अनुदान दिने अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए ।
उनका अनुसार जमिन भाडामा लिई खेती गर्ने कृषकलाई गाउँपालिकाले भाडा वापतको रकम अनुदान दिनेछ । ‘आन्तरिक कृषि विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ बनाइसकेका छौँ’, उनले भने, ‘सोही कार्यविधि बमोजिम जग्गा भाडामा लिई खेती गर्ने कृषक, कृषक समुह, सहकारी समिति, कृषि फर्महरुलाई भाडा वापतको रकम गाउँपालिकाले उपलब्ध गराउँछ ।’
जग्गा भाडामा लिए वापत गाउँपालिकाले प्रति रोपनी दुई हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराउने कार्यविधिमा तय गरिएको अध्यक्ष स्याङ्तानको भनाइ छ ।
विपन्न, सीमान्तकृत, दलित, जनजाती तथा बेरोजगारको सूचीमा रहेकालाई बिशेष प्राथमिकता दिएर अघि बढाएको कार्यक्रम अन्तर्गत कृषकलाई भाडा वापतको रकम उपलब्ध गराउन पालिकाले मा छ लाख बजेट बिनियोजन गरेको छ।