लमजुङ– दोर्दी गाउँपालिकाले पर्यटकीय प्रवर्द्धनका लागि नयाँ पदमार्ग पहिचान गरेको छ । गाउँपालिकाले ‘भेडिगोठ सेल्टर’ विकास गरी पदमार्गको प्रचारप्रसारमा जुटेको हो ।
गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले गाउँपालिकाले चार दिनदेखि ११ दिनसम्मका पदमार्ग पहिचान गरेको बताए । ‘गाउँपालिकाअन्तर्गत पहिचान भएका पदमार्ग विल्कुलै नयाँ हुन्, मानवबस्ती र सडक सञ्जालभन्दा टाढा रहेका यी पदमार्गमा यात्रा गर्नेलाई नयाँ अनुभव प्राप्त हुनेमा विश्वास छ’, उनले भने ।
उनका अनुसार दोर्दीको नौथरसेराबाट सुरु भई इलम पोखरी, लिपेलेक हुँदै दास्राङबाट फेरि नौथरसेरा झर्ने चार दिने पदयात्रा गर्न सकिन्छ । नौथरसेराबाट इलमपोखरी, लिपे लेक, नौटाँचे, मुल्मचे, उखण्ड ताँजे नौथरसेरा आठ दिनको यात्रा गर्न सकिन्छ ।
नौथरसेरा इलम पोखरी, लिपेलेक, नौटाँचे, मुल्मचे, उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा बाह्र पोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिलतर्फबाट बेसी सहरसम्मको ११ दिनको पदयात्रा गर्न सकिन्छ ।
अध्यक्ष अधिकारीका अनुसार पदमार्गमा यात्रा गर्दा बाटै भरी लालिगुँरास, हनी हन्टिङ, छहरा तथा झरना, गुफा, गढीलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा पर्यटन प्रवर्द्धनका लागि ५९ लाख खर्च गरी काम सुरु गरिसकेको बताए ।
हालसम्म पोखरी पुनः संरचनाका साथै पदमार्गको पहिचान, प्रचारप्रसार तथा भेडिगोठलाई सेल्टरका रूपमा विकास गर्नका लागि काम गरिरहेको छ ।
पर्यटन व्यवसायी राजेन्द्र वस्तीले लमजुङ पर्यटन क्षेत्रको राम्रो सम्भावना भएको जिल्ला भएको र त्यसमा पनि दोर्दीमा पदमार्गको राम्रो र नयाँ सम्भावना रहेको बताए । उनले उक्त पदमार्गमा एक हजार नौ सय मिटरदेखि चार हजार मिटरसम्मको उचाइमा पुग्न सक्ने बताए ।
दोर्दीले लिपेलेकसहित अन्य पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न चक्रीय पदमार्ग निर्माण गरेको छ ।
दोर्दीको नौथर सेराबाट सुरु गरिएको चक्रीय पदमार्ग दोर्दीकै श्रीमञ्ज्याङ, दूध पोखरीको ओखरी, गौडा, जोर्ने र दोर्दीको इलमपोखरी चेर्ने, लिपे, गौथली, टउ, मस्प्रो, रप्रो, दाम्राङ हुँदै नौथर सेरामा टुंगिने गाउँपालिकाका अध्यक्ष अधिकारीले बताउँछन् ।
उनका अनुसार पदमार्गमा यात्रा गर्दा बाटै भरी लालिगुँरास, हनी हन्टिङ, छहरा तथा झरना, गुफा, गढीलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । जसमा हालसम्म पोखरी पुनः संरचनाका साथै पदमार्गको पहिचान, प्रचारप्रसार तथा भेडिगोठलाई सेल्टरका रूपमा विकास गर्नका लागि काम गरिरहेको छ ।
यी पदर्मागबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्णदेखि मनासलुसम्मको हिमशृङ्खलाहरू निकै मनमोहक देखिन्छ । इलमपोखरी लगायतका धार्मिक तथा ऐतिहासिक महत्वको यस क्षेत्रको अवलोकन गरी धार्मिक पर्यटन तथा ट्रेकिङको मज्जा लिन सकिन्छ ।