काठमाडाैं- सत्ता सहयात्री दलहरूले एमालेलाई बहिष्कार गर्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँग महोत्तरी क्षेत्र नं.४ मा क्षेत्रीय गठबन्धन गरेको एक महिना पनि बितेको छैन ।
रामगोपालपुर नगरपालिका वडा नं.२ मा उपनिर्वाचन हुँदै छ ।
एक महिना अगाडि कांग्रेस, माओवादी केन्द्र, जसपा र लोसपा मिलेर वनेको साझा गठबन्धनलाई लिएर अहिले उपनिर्वाचनको सन्दर्भमा चर्चाहरू सुरु भएको छ । यद्यपि सोही क्षेत्रका संघिय संसद् महेन्द्र यादवले तत्कालीन समयमा विकासको लागि साझा मोर्चा भएको बताउँछन् । मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री तथा एमाले संसदीय दलका नेता समेत रहेका सरोज यादवको वडा भएको हुनाले पनि यो वडाको उपनिर्वाचन चर्चामा रहेको हो ।
उक्त वडाको वडाध्यक्ष मुकेश यादवको सडक दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचनलाई विशेषतः मन्त्री यादवले एमाले उम्मेदवार जिताउन आफ्नो राजनीति प्रतिष्ठाको लडाई समेत बनाएको देखिन्छ ।
मृतक वडा अध्यक्ष मुकेश माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । माओवादीले उनको मृत्यु सडक दुर्घटनामा नभई हत्या भएको दाबी गर्दै आएको छ । उनै मृतक मुकेशकी श्रीमती आइती देवी यादवलाई वडाध्यक्षको उम्मेदवार बनाएर माओवादीले चुनावी कार्यक्रम गरेको छ ।
नेकपा एमालेले सकिवुल खाँ, नेपाली कांग्रेसले मोहम्मद जनिफ खाँलाई र जसपाले नाजामुद्दीन खानलाई उम्मेदवार बनाएका छन् ।
कुल २१३७ मतदाता रहेको यो वडामा २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रका मृतक वडा अध्यक्ष मुकेश यादवले अहिले कांग्रेसले उम्मेदवार बनाएको मोहम्मद जनिफ खाँलाई पराजित गर्दै विजयी भएका थिए ।
एमालेले उम्मेदवार बनाएका सकिवुल खाँ अघिल्लो निर्वाचनमा जसपाबाट उम्मेदवार बनेका थिए । उनी मतको आधारमा तेस्रो स्थानमा थिए भने एमालेको उम्मेदवार कादिर हुसैन चौथो स्थानमा थिए । तर यो उपनिर्वाचनमा भने नेकपा एमाले र माओवादी केन्द्रको प्रतिस्पर्धा हुने स्थानीयहरूले आकलन गरेका छन् ।
नेकपा एमालेका नेता सरोज यादव आफ्नो गृह वडा भएको र जित्नुपर्ने चुनौतिकाबीच चुनावी रणनीतिक मोर्चामा छन् । यता संगठनिक मत दरिलो भएको माओवादी केन्द्र सहानुभूति र लोकप्रिय मत समेत आफूहरूको भएको दाबी सहित मुख्य प्रतिस्पर्धी कांग्रेस भएको तर एमाले अझै प्रतिस्पर्धी नभएको आकलन गरिरहेको छ ।
राजनीतिक प्रतिष्ठाको लडाई र महिला उम्मेदवार त्यो पनि मृतक वडा अध्यक्षका अधुरो कामहरूलाई पूरा गर्न श्रीमती नै चुनावी मोर्चामा होमिनुले यति वेला महोत्तरीमा माओवादी केन्द्र र नेकपा एमालेको नै चर्चा छ ।
नेकपा एमालेले भने एक महिना अगाडि वनेको क्षेत्रीय गठबन्धनले कतै निर्वाचनमा काम गर्ने त हैन भन्ने पनि आशङ्का गरेको छ ।
अचम्म लाग्दो त प्रतिस्पर्धामा माओवादी केन्द्र कि आईतीदेवि यादव बाहेक सबै प्रतिस्पर्धीहरू मुस्लिम समुदायबाट छन् । टेङ्गर स्थित उक्त वडामा अहिले ५०% प्रतिशत मुस्लिम समुदायको नै बाहुल्यता छ । यसरी मुस्लिम समुदायका उम्मेदवार नै उम्मेदवार हुँदा मत विभाजन हुने र आईतिदेवीलाई यो थप जित्ने आधार बन्ने कतिपयले विश्लेषण गरेका छन् ।
अघिल्लो निर्वाचनमा मुकेश यादवका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँले ३७५ मत ल्याएका थिए भने यादव ४३३ मत ल्याएर विजयी वनेका थिए । त्यसपछि जसपाका उम्मेदवार सकिवुल खाँले ३४२, नेकपा एमालेका उम्मेदवार कादिर हुसैनले २८७ मत, लोसपाका मोहम्मद अहमद रेजा खाँले २२ मत र जनमतका उम्मेदवार अशोक कुमार यादवले १७ मत ल्याएका थिए ।