काठमाडौं– सिद्धार्थ बैंकका अध्यक्ष मनोज कुमार केडियाविरुद्ध पक्राउ पूर्जी जारी भएको पाइएको छ ।
अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकसमेत रहेका बैंकका अध्यक्ष केडियाविरुद्ध राष्ट्रिय वन क्षेत्रमा अवैध उत्खनन गरेको अभियोगमा पक्राउ पुर्जी जारी भएको हो ।
डिभिजन वन कार्यालय पाल्पाले केडियासहित सो उद्योगका अन्य संचालकहरुविरुद्ध जिल्ला अदालत पाल्पामा अभियोग पत्र दायर गरेको हो । सो अभियोग पत्रमा उनी फरार सूचीमा छन् ।
पक्राउ पूर्जी जारी भए पनि काठमाडौंमा उनी खुलेआम हिँडिरहेका छन् । सोही मुद्दामा अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारका पक्राउ परेर छुटिसकेका छन् ।
केडियासहित उद्योगका सञ्चालकबाट कुल ३९ लाख ६३ हजार ८ सय ५२ रुपैयाँ बिगो माग दाबी गरिएको छ भने मुलुकी अपराध संहिता अनुसार सबै सञ्चालकलाई जनही ५–५ वर्ष कैद सजाय माग भएको छ ।
केडियाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको र उनी फरार भएपछि उनलाई फरार सूचीमै राखेर अभियोग पत्र दायर गरिएको जिल्ला वन कार्यालय पाल्पाका एक अधिकारीले पुष्टि गरेका छन् ।
फौजदारी मुद्दामा अभियुक्त भई मुद्दा दायरसमेत भइसकेको र फरार सूचीमै रहे पनि केडिया बैंकको सञ्चालक समितिका अध्यक्षकै रूपमा छन् । अदालतको फरार सूचीमा रहेका उनी बैंकको सञ्चालक समितिमा उपस्थित हुने, र विभिन्न सार्वजनिक कार्यक्रममासमेत खुलेआम हिँडिरहेका छन् ।
पाल्पामा फौजदारी अभियोगमा पक्राउ पुर्जी जारी हुँदा पनि बैंकका अध्यक्ष केडिया काठमाडौंमा खुलेआम हिँडिरहेका छन् । अझ, देशको सान क्रिकेटको महाउत्सव नेपाल प्रिमियर लिगको कार्यक्रममा मुख्य प्रायोजक बैंकको अध्यक्षकै हैसियतमा उनी उपस्थित भएसँगै यो मुद्दा झन् चर्किएको छ ।