+
Search

ताजा अपडेट +

पपुलर +

वन क्षेत्रमा अवैध उत्खनन् गरेको आरोपमा मुरारकासहित पाँच जनाविरूद्ध मुद्दा

पालिका लाइभ
२०८१ मंसिर ८, शनिबार २१:२८ गते

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित पाँच जना र सिद्धार्थ मिनरल्स प्रालिविरूद्ध मुद्दा दायर भएको छ। डिभिजन वन कार्यालय पाल्पाले वन क्षेत्र अतिक्रमण गरेको कसुरमा ६१ वर्षीय उद्योगपति मुरारकासहितका व्यक्तिमाथि मुद्दा दायर गरेको हो।

करिब ४० लाख रुपैयाँ बिगो तथा सजाय दाबी गर्दै वन कार्यालयले पाँच जनाविरूद्ध कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेको हो।

मुद्दामा सिद्धार्थ बैंकका बहालवाला अध्यक्ष मनोज केडिया, राजेशकुमार अग्रवाल, जगदीश अग्रवाल र विनोद कुमार श्रेष्ठलाई  प्रतिवादी बनाइएको छ।

वन क्षेत्र अतिक्रमण गरी अनुमति प्राप्त भएको क्षेत्र भन्दाबढी क्षेत्रमा चुनढुंगा उत्खनन् गरेको डिभिजन वन कार्यालय पाल्पा जनाएको छ। मुद्दा दायर गरिएका सिद्धार्थ मिनारल्सको सञ्चालकमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष उद्योगपति मुरारका छन्। प्रतिवादीमध्ये मुरारका बयानको लागि हाजिर भएका छन् भने अरू फरार सूचीमा छन्।

गैरकानुनी रुपले वन क्षेत्र अतिक्रमण गरी चुनढुंगा उत्खनन् गरेको कसुरमा डिभिजन वन कार्यालयले फरार प्रतिवादीलाई पक्राउ पुर्जीको मागसहित जिल्ला अदालत पाल्पामा कात्तिक २९ गते मुद्दा दायर गरेको हो।

उनीहरूविरूद्ध ३९ लाख ६३ हजार ८५२ रुपैयाँ बिगो दाबी गरिएको छ। पाँच हेक्टर वन क्षेत्रको अनुमति दिइएकोमा प्रतिवादीहरूले ७ दशमलब २ हेक्टर वन क्षेत्र प्रयोग गरेको आरोप लगाइएको छ।

पाल्पाको तिनाउ गाउँपालिका-३ श्रीडाँडामा १३ वर्षदेखि चुनढुंगा उत्खनन् गर्दै आएको सिद्धार्थ मिनरल्स प्रालिले खानी विभागको निर्देशनसमेत अटेर गरेर दोहन गर्ने गरेको छ।

सिद्धार्थ मिनरल्स र सञ्चालक मुरारकासँग ०७८ सालमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४९ करोड ४५ लाख ५१ हजार ६४५ रुपैयाँ बिगो र जरिवानासहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा गत मंसिर ६ गते पेशी तोकिएकोमा स्थगित भएको थियो। मुरारका भने चार लाख धरौटी बुझाएर छुटिसकेका छन्।

पक्राउ पुर्जी जारी भएपछि ‘सिद्धार्थ बैंकका अध्यक्ष’ फरार !

सिद्धार्थ बैंकका अध्यक्ष केडियाविरुद्ध पक्राउ पूर्जी जारी भएपछि फरार सूचीमा रहेको खुलासा भएको छ । फौजदारी अभियोगमा अदालतले पक्राउ अनुमति दिए पनि प्रहरीले उनलाई पक्राउ गर्न नसकेपछि केडियालाई फरार भनेर प्रहरीले अदालतमा बिगो र कैद सजायको माग दाबी गरेर मुद्दा दायरसमेत गरेकाे छ ।

बैंकका अध्यक्ष केडियाले बैंकको अध्यक्ष पद छोडेका छैनन्, उल्टै खुलेआम हिँडिरहेका छन् । र प्रहरीले पनि उनलाई देखेर पनि देखेको छैन जस्तो गरिरहेको छ । 

पाल्पामा फौजदारी अभियोगमा पक्राउ पुर्जी जारी हुँदा पनि बैंकका अध्यक्ष केडिया काठमाडौंमा खुलेआम हिँडिरहेका छन् । अझ, देशको सान क्रिकेटको महाउत्सव नेपाल प्रिमियर लिगको कार्यक्रममा मुख्य प्रायोजक बैंकको अध्यक्षकै हैसियतमा उनी उपस्थित भएसंगै याे मुद्वा झन् चर्किएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ