काठमाडाैं- चालु आर्थिक वर्ष २०८१/८२ को आधा समय सकिनै लाग्यो । चालु आर्थिक वर्ष मा काठमाडौं महानगरपालिकाको खर्चको दर खस्किएको छ । महानरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बजेट ल्याएको थियो । जसमध्ये चालु आर्थिक वर्ष २०८१/८२ चार महिनामा १३ प्रतिशतमात्र बजेट खर्च गरेको छ ।
बजेटमार्फत महानगरपालिकाले थपेको गौरवका योजना र स्वर्णिम योजना बाहेक २ अर्ब ७० करोड ३३ लाख ८० हजार खर्च गरेको हो । महानगरले थप ११ गौरवका योजना र ३० स्वर्णिम योजना बाहेक २० अर्ब ३७ करोड २७ लाख खर्च गर्ने लक्ष्य राखेको थियो ।
कुल २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बजेटमध्ये ढलरहित नदीनालाको ३ अर्ब ८० करोड थप ३० स्वर्णिम योजनालाई २ अर्बको बजेट घोषणा भएको थियो ।
महानगरले आर्थिक विकासतर्फ ७३ करोड ३३ लाख ७१ हजारमध्ये ११ करोड २० लाख ७० हजार खर्च गरेको छ । जुन १५.२८ प्रतिशत हो ।
यस्तै सामाजिक विकासतर्फ विनियोजन भएको ४ अर्ब ९९ करोड ६८ लाखमध्ये ७.७२ प्रतिशत अर्थात् ३८ करोड ५६ लाख ३४ हजार खर्च भएको छ । सबैभन्दा धेरै बजेट रहेको पूर्वाधारतर्फ ७ अर्ब ६२ करोड ५० लाख ११ हजारमध्ये ७८ करोड ६२ लाख ३४ हजार अर्थात् १०।३१ प्रतिशत खर्च गरेको छ ।
त्यस्तै सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा २ अर्ब ९६ करोड ५८ लाखमध्ये ५.५३ प्रतिशत अर्थात महानगरको १३ करोड ३८ लाख ७४ हजार खर्च भएको देखिन्छ । महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च १ अर्ब २५ करोड ५५ लाख ६५ हजार खर्च भइसकेको छ । जुन विनियोजित बजेट ४ अर्ब ५ करोड १५ लाखको ३०.९९ प्रतिशत हो ।
महानगर वित्त विभागका अनुसार यो खर्चबाहेक पनि थपिएको गौरवका योजना र स्वर्णिम योजनामा खर्च भएको छ । वित्त विभागका एक अधिकारी भन्छन्- ‘क्रमागत र थपिएका योजनाको अन्तिममा एकीकृत खर्च देखिन्छ । अहिले देखिएको छैन । त्यसले पनि खर्च बढाउँछ,’ ।
महानगरले आम्दानी पनि एक चौथाइ गरिसकेको छ । उसले कुल १२ अर्ब ९० करोड ६३ लाख २५ हजार राजस्व उठाउने लक्ष्य लिएकोमा ३ अर्ब १६ करोड ७८ लाख ११ हजार अर्थात् २४.५४ प्रतिशत उठाएको छ ।
२५ अर्ब ७० करोड ६३ रुपैयाँको बजेट ल्याउँदा महानगरसँग ११ अर्ब ३० करोडभन्दा बढी मौज्दात थियो । त्योबाहेक महानगरले बजेटमा राखेको लक्ष्यमा २४.५४ प्रतिशत उठाउन सफल भएको हो । महानगरले साउनदेखि कात्तिक मसान्तसम्म आन्तरिक राजस्व लक्ष्यको २४.७७ प्रतिशत उठाएको छ । आन्तरिक राजस्व ८ अर्ब ३ करोड ५७ लाख लक्ष्य राखेकोमा १ अर्ब ९९ करोड ४६ लाख उठाएको हो ।
आन्तरिक राजस्वतर्फ सबैभन्दा धेरै ९४ करोड ८५ लाख रुपैयाँ घरबहाल कर उठाएको छ । यस्तै सम्पत्ति कर ५० करोड ३१ लाख राजस्व महानगरले उठाएको छ ।
यस्तै महानगरले बाँडफाँटबाट प्राप्त हुने राजस्वमा २ अर्ब ५० करोड २६ लाखको लक्ष्य राखेकोमा ४६ करोड २४ लाख रुपैयाँ अर्थात् १८.४८ प्रतिशत संकलन गरेको छ ।
महानगरले राजस्व स्रोतमा राखेको आन्तरिक अनुदानमा लक्ष्य हासिलको अवस्था राम्रो देखिन्छ । २ अर्ब ३६ करोड ७८ लाखमध्ये ७१ करोड ४९ लाख ४४ हजार राजस्व उठेको छ ।
महानगरको सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाबाट हुने आम्दानी कुल १ अर्ब ५० करोड छ ।
काठमाडौं महानगरले गत आव २०८०/८१ मा २४ अर्ब १९ करोड ८४ लाख बजेट विनियोजन गरेको थियो । त्यसमा ५१ प्रतिशत खर्च प्रगति हासिल गरेको थियो । गत आवको वार्षिक समीक्षा प्रतिवेदन अनुसार पछिल्लो पाँच वर्षमा भएको खर्च दरमध्ये सबैभन्दा उच्च हो ।
गत आवमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा विनियोजित रकमको ७३ प्रतिशत खर्च भएको छ । सबैभन्दा कम खर्च भएको क्षेत्र आर्थिक विकास हो । यसमा ३८ प्रतिशत खर्च भएको छ ।
यसैगरी सामाजिक विकास क्षेत्रमा विनियोजनको ६० प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ३२ प्रतिशत र पूर्वाधार विकासमा ४६ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।
यस्तो छ बजेट तथा खर्चको अवस्था