काठमाडाैं- नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नरको सेवासुविधा र तलबभत्ता कति होला ? सबैलाई यसबारे जिज्ञासा लाग्न सक्छ । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्षमा लिएको मासिक तलबभत्ता र अन्य सेवासुविधा अन्तगर्त ६४ लाख ६२ हजार रुपैयाँ बुझेका छन् ।
अधिकारीले गत आर्थिक वर्ष २०८०/८१ मा एक वर्षको तलब १६ लाख ६२ हजार सहित बैठक भत्ता र अन्य सुविधा गरी उक्त रकम बुझेको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।उनले बोर्ड बैठक भत्ता ३ लाख ३३ हजार रुपैयाँ र ४४ लाख ९७ हजार रुपैयाँ बराबर अन्य भत्ता तथा सुविधा बापत बुझेको प्रतिवेदनमा छ ।
आर्थिक वर्ष २०८०/८१ मा केन्द्रीय बैंक सञ्चालक समिति बैठक ३७ पटक तथा व्यवस्थापन समिति बैठक ४७ पटक बसेको थियो ।अधिकारीले आर्थिक वर्ष २०७९/८० मा ६० लाख ९१ हजार रुपैयाँ तलब भत्ता र अन्य सुविधाबापत बुझेको थिए । उनको तलब १६ लाख ३२ हजार नै भए पनि अन्य सुविधा बढेसँगै गत वर्ष लिएको कुल सेवा सुविधा बापत रकम बढेको हो ।
राष्ट्र बैंक सञ्चालक समिति सदस्यलाई प्रतिबैठक ९ हजार रुपैयाँ भत्ता दिने व्यवस्था छ । यसबाहेक इन्धन, सवारी मर्मत, टेलिफोन, पत्रपत्रिका, इन्टरनेट, चालक र स्वास्थ्य सुविधा पनि दिइएको हुन्छ ।
राष्ट्र बैंक सञ्चालक समितिमा गभर्नर सहित ७ सदस्य रहने व्यवस्था छ । गभर्नर सहित दुई जना डेपुटी गभर्नर कार्यकारी पद भएकाले उनीहरूको तलब तोकिएको हुन्छ । अर्थ सचिव र अन्य तीन जना सकारले नियुक्त गरेको सदस्य पनि सञ्चालक समितिमा रहने व्यवस्था छ ।
गभर्नरको तलब १६ लाख ३२ हजार हुँदा दुवै डेपुटी गभर्नरको वार्षिक तलब १४ लाख ६० हजार ४ सय रुपैयाँ छ ।