काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष गण्डकी प्रदेश सरकारका मन्त्री र त्यहाँका पर्यटन व्यवसायीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसहितको टोलीले प्रधानमन्त्री ओलीलाई त्यसबारे ध्यानाकर्षण गराएको हो।
प्रधानमन्त्रीको ओलीको सचिवालयका अनुसार मन्त्री बस्यालले गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा पर्यटन प्रर्वद्धनका लागि अन्तर्राष्ट्रिय उडान हुनु आवश्यक भएको भन्दै केन्द्र सरकारबाट पनि देशकै पर्यटकीय राजधानीका रुपमा घोषित गर्न माग गरे।
प्रधानमन्त्री ओलीले सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा आफ्नो आशन्न चीन भ्रमणका क्रममा पर्यटक बढाउने विषयमा चीनलाई आग्रह गर्ने जानकारी दिए। उनले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्ने आश्वासन दिए।
भेटका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री बद्री पाण्डे, प्रदेशको मन्त्रालयका सचिव कुमानसिंह गुरुङ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहाडीलगायत सहभागी थिए।