रौतहट– शिक्षक सरुवाको विषय लिएर देवाही गोनाही नगरपालिका मेयर प्रेमलाल शाहको घरमा भएको आक्रमणको घटनाको टुंगो नलाग्दै सोही विषयमा फेरी एकजना मेयर माथि आक्रमणको प्रयास भएको छ।
जिल्लाको मध्यभाग गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवाल माथि आइतबार साँझ आक्रमणको प्रयास भएको हो। शिक्षक सरुवाको विषय लिएर आइतबार १०/१२ जनाको संख्यामा मेयर जैसवालको घरमा गएका मानिसहरू भनाभन गर्दै आक्रमणको प्रयास गरेका हुन्।
आक्रामक शैलीमा गएका उनीहरूले मेयर जैसवालको घर अगाडी तथानाम गालीगलौज गरिरहेका थिए । प्रतिवाद गरेका मेयरका छोरा शैलेस जैसवाल माथि उनीहरू धक्कामुकी समेत गरेका छन्।
गत शुक्रवार नगर शिक्षा समितिको बैठकले ६ जना शिक्षकको सरुवा गर्ने निर्णय गरेको थियो। सोही मध्ये एकजना मावि गरुडाका शिक्षकलाई अन्य विद्यालयमा किन सरुवा गरेको भन्दै उनीहरू मेयर कन्थमणि जैसवालमाथी आक्रमण गर्न खोजेको बुझिएको छ।
शिक्षक सरुवाको विषय नगरपालिकामा गएर सुल्झाउनु पर्नेमा केही राजनीतिक दलका नेता तथा अन्य शिक्षकहरूको उक्साहटमा गरुडा ४ का केही मानिसहरू यस प्रकारको अभद्र व्यवहार गरेको मेयरका छोरा शैलेस जैसवालले बताएका छन्।
गरुडा-४, का रामएकवाल पटेल, वीरेन्द्र पटेल, दिलीप पटेल, होसनारायण यादव, श्याम यादव, छोटेलाल पटेल र लालबाबु यादव लगायतका मानिसहरू मेयर जैसवाल विरुद्ध खुलेरै लागेको शैलेसले जानकारी दिएका छन्।
यसैबीच अभद्र व्यवहारमा लागेका ७ जना विरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा लिखित उजुरी दिएको मेयरका छोरा शैलेसले बताएका छन्।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले सामान्य भनाभन भएको तर कसैमाथि आक्रमण नभएको बताउँदै आवश्यक अनुसन्धान गरिरहेको बताएका छन्।
यसअघि शिक्षक सरुवाको विषय लिएर देवाही गोनाही नगरपालिका भवन र मेयर प्रेमलाल साहको घरमा आक्रमण गर्दा ७५ लाख बराबरको क्षति भएको सार्वजनिक गरिएको थियो। उक्त घटनामा इलाका प्रहरी कार्यालय गरुडाका १० जना विरुद्ध मुद्दा दायर गरिएको थियो।