काठमाडौं– पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।
काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा उनको आज दिउँसो निधन भएको हो ।
उनी कलेजोसम्बन्धी समस्याबाट पीडित थिए ।
वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएर प्रतिनिधिसभाको सभामुख बनेका थिए ।
उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।
पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गरेका उनले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचानसमेत बनाएका छन् । ०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बनेका उनी पत्रकारिता र शिक्षण पेशामा पनि लागे ।
०४८ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी सभामुख बने ।
०५१ सालको मध्यावधि चुनावमा विद्या भण्डारीसँग पराजित भएपछि ढुंगाना शान्ति अभियानमा खुलेर लागेका थिए ।
उनी सरकार-माओवादी शान्ति वार्ताका सहजकर्ता थिए ।