काभ्रेपलाञ्चोक– रोशी गाउँपालिकाले बाढीपीडितलाई सघाउन चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ। जाडोयाम सुरु भइसकेकाले गाउँपालिकाले तत्काल बाढीपीडितलाई सहयोग गर्न गाउँसभाको विशेष अधिवेशनले बजेट व्यवस्थापन गरेको हो।
गाउँसभाको १५औँ अधिवेशनले विपद्कोषमा २ करोड ८० लाख रुपैयाँ विनियोजन गर्दै आवश्यकताअनुसार पीडितलाई प्रदान गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए। सहायता रकम क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने छ।
चालू आर्थिक वर्षको बजेट संशोधनका लागि गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईबाले गाउँसभामा बजेट संशोधन प्रस्ताव पेस गरेका थिए । उनले पेस गरेको प्रस्ताव माथि कार्यपालिका सदस्यहरूले छलफल गरेका थिए।
गत असोजमा आएको बाढी र पहिरोका कारण राजस्व सङ्कलन सङ्कुचित हुने र धेरै संरचनामा क्षति भएपछि बजेट संशोधन गरिएको हो । रोशीले संशोधित बजेटमा क्षति भएका योजनाहरूलाई विशेष प्राथमिकतामा राखेको उपाध्यक्ष वाईबाले बताए ।
गत असोजमा आएको बाढी पहिरोका कारण रोशीमा १२ जनाको मृत्यु भएको थियो । ५०४ घरधुरीहरू पूर्ण रूपमा क्षति भएको थियो हुने ९११ घरधुरीहरू उच्च जोखिम तथा आंशिक क्षति भएको रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले जानकारी दिए । उनका अनुसार बाढी पहिरोले रोशीमा २ हजार ५४४ घरधुरीको खेत बारी बगाउनुका साथै पालिकाका विभिन्न गौरवका योजनाहरू पूर्ण रूपमा क्षति भएको छ ।
बाढीले रोशीका फलामे साँघुमा निर्माणाधीन १० शय्याको अस्पताल, औद्योगिक ग्राम, वडा नम्बर ११ कालढुंगास्थित बिपी राजमार्गको छेवैमा निर्माण भएको डम्फु जीवन्त सङ्ग्रहालय पूर्ण रूपमा क्षति भएको उनले बताए।
रोशीमा निर्माण भएका ३ वटै खेल मैदानमा क्षति पुगेकाले यसले खेल क्षेत्रलाई समेत असर गरेको उनको भनाई छ ।