रसुवा– चीनसँग सीमा जोडिएको नेपालको उत्तरी नाका रसुवा जिल्लाको टिमुरेमा निर्माणधीन सुक्खा बन्दरगाह ६५ प्रतिशत निर्माण भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणधीन सुक्खा बन्दरगाह निर्माण कार्य तीव्र रुपमा अघि बढेको हाे ।
समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार हालसम्म सुक्खा बन्दरगाह निर्माणको काम ६५ प्रतिशत सकिएको र आउँदो २०८२ असार मसान्तसम्म सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए । अहिले मध्ये भोटेकोशी खोलातर्फ र सडक तर्फको निर्माण कार्य सम्पन्न भैसकेको छ ।
सडक निर्माण, कार्गो गोदाम, लिटिगेशन गोदाम र इन्सपेक्सन सेडको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको गजुरेलले बताए । उनका अनुसार, प्रशासनिक भवनको निर्माण कार्य पनि ५० प्रतिशत सकिएको छ । हाल इलेक्ट्रिकल, सेनिटरी, खानेपानी तथा पेभमेन्टको काम भइरहेको उनले बताए । रसुवा सुक्खा बन्दरगाहको बाँकी निर्माण कार्य आउँदो ०८२ असार मसान्तसम्ममा सम्पन्न हुने लक्ष्य छ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीन सरकारबीच १६ अक्टुवर, २०१४ मा अर्थ मन्त्रालयसंग १० अप्रिल, २०१५ मा हस्ताक्षर भएको थियो ।
गोसाईकुण्ड गाँउपालिका-१, टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह निर्माण गर्न ०७६ बैशाख २९ मा चीन सरकार र नेपाल सरकारबीच हस्ताक्षर भएको थियो भने उक्त सुक्खा बन्दरगाह निर्माणको लागि ०७९ फागुन २ गते पूरक सम्झौता भएको थियो ।
आयोजनाको कुल लागत १२४ मिलियन आर.एम.वि रहेको छ । करार सम्झौता अनुसार आयोजनाको अवधि ०८२ जेठ २४ ९६ जुन, २०२५० सम्म रहेको छ । यस सुक्खा बन्दरगाह कूल ५० हजार ९०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ ।
सुक्खा बन्दरगाह क्षेत्रमा संयुक्त निरीक्षण सेड, सामान राख्ने गोदाम, लिटिगेशन सेड, क्यान्टिन, प्रशासनिक भवन, ३०० सवारी साधन अट्ने पार्किङ लगायतका भौतिक संरचनाहरूको निर्माण भइरहेको छ ।