लमजुङ– मर्स्याङ्दी गाउँपालिकाद्वारा सञ्चालन गरिने दोस्रो मर्स्याङ्दी महोत्सवमा २५ लाख बढीको भिर मह बिक्री हुने अनुमान छ । मंगलबारबाट सुरु हुने पाँच दिने महोत्सवको समापन मंसिर १ गते शनिवार हुनेछ ।
‘महोत्सवमा २५ लाख बराबरको भिरमह विक्री गर्ने लक्ष्य छ’, अध्यक्ष अर्जुन गुरुङले भने, ‘त्यो बाहेक स्थानीय कृषिका अर्ग्यानिक उत्पादनहरूको बजार प्रवर्द्धनको काम हुनेछ, स्थानीय उत्पादनका स्टलहरू बसै ठाउँमा हुनेछन् ।’
महोत्सवबाट गाउँपालिकाको पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमा सहयोग पुग्ने उनको विश्वास छ ।
अध्यक्ष गुरुङले भने, ‘महोत्सवबाट गाउँपालिकाको पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमा सहयोग पुग्ने आयोजकको विश्वास रहेको । दोस्रो महोत्सवसम्म आई पुग्दा गाउँपालिकाको पर्यटन विकास, उत्पादन र बजारीकरणले तुलनात्मक रूपमा विगतको वर्षहरू भन्दा केही उपलब्धिहरू हासिल गर्न सफल भएको छ ।’
दोस्रो महोत्सवमा पालिकाको जे जति पर्यटकीय गन्तव्यहरू र कार्यक्रमहरू समावेश गर्न खोजिएको हो, पक्कै पनि अपार पर्यटकीय सम्भावना भएको र कला संस्कृतिको धनी यस गाउँपालिकाको सम्भावनाहरू सबैलाई यसले समेट्न नसक्ने उनले बताए । तर, सबैलाई समेटेर महोत्सव भव्य बनाउने तयारी पालिकाको रहेको छ ।
हरेक वर्ष हुने मर्स्याङ्दी महोत्सवले आउने कार्यक्रमहरूमा क्रमशः पालिकाका सबै गन्तव्यहरूलाई समेट्दै गाउँपालिकालाई एक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न सफल हुनेछ विश्वास पालिका अध्यक्ष गुरुङको छ।
गाउँपालिकाको गत असोज २ गते बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार महोत्सव सञ्चालन गर्न लागिएको हो । महोत्सवमा पहिलो दुई दिन खुदी बजारमा मञ्च हुनेछ । तेस्रो दिन कार्तिक २९ गते जगत तातोपानी महोत्सव हुने कार्यक्रम छ । मञ्च वडा नं-४, को जगतमा हुनेछ । चौथो दिन मह सिकार महोत्सवको कार्यक्रम गाउँपालिका-२, ४, ५ र ६ वडाहरूमा हुने पालिकाले जनाएको छ ।
अध्यक्ष गुरुङले भने ‘महोत्सव सफल पार्नका लागि १०१ सदस्यीय मूल समारोह समिति, तथा विभिन्न १३ उपसमिति गठन गरिएको छ ।’ सबैले आ-आफ्नो जिम्मेवारी अनुसार तयारीका काम गरिरहेका छन्, पालिकाबाट तयारीको अनुगमन गर्ने, सल्लाह सुझाव दिने काम जारी रहेको छ ।’
‘गत वर्षका महोत्सवमा एकै स्थलमा मञ्च हुने र सबै गतिविधि सञ्चालन हुने हुन्थ्यो’, उनले भने ‘अहिले हामीले फरक प्रयोग गर्ने जमर्को थरेका छौँ । प्रतिफल राम्रो आउँछ भन्ने लागेको छ ।’
कात्तिक ३० गते गाउँपालिकाका विभिन्न वडाका भीरहरुमा भीरमह शिकार (हनि हन्टिङ) को कार्यक्रम तय गरिएको छ । घनपोखराका साथै ताघ्रिङको काप्रेभीर, स्याँगे भीर, मिप्रा, घेर्मु, बाहुनडाँडाका विभिन्न भीरमा भीर मौरी शिकारको कार्यक्रम छ।
महोत्सवको आकर्षण एवम् विशेषतामा एकादशीको दिनमा फूलको डोरी तार्ने, मह शिकार, तातोपानी र स्थानीय खाना महोत्सव एवम् स्थानीय झरनाको अवलोकनका साथमा ग्रामीण पर्यटकीय गाउँमा पर्यटन प्याकेजको बिक्री वितरण, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने पालिकाले जनाएको छ ।