काठमाडौं– माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले उपनिर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए ।
माओवादी केन्द्रले समाजवादी मोर्चासँग उपनिर्वाचनमा सहकार्यको ढोका खुला राखेको हो ।
समाजवादी मोर्चामा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा छन् । २०८० असार ४ गते मोर्चा घोषणाका बेला उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसमेत सामेल भए पनि हाल उसले मोर्चाबाट अलग भएको घोषणा गरेको छ । हाल यो मोर्चा निष्कृयसमेत छ ।
स्थानीय तह उपनिर्वाचनअघि मोर्चाका नेताहरुबीच छलफलसमेत चलाउने तयारी माओवादी केन्द्रको छ । तर सत्ता साझेदार दलसँग भने उपनिर्वाचनको सन्दर्भमा छलफल र सहकार्य नगर्ने माओवादीले जनाएको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको माहोल देशभर राम्रो हुँदै गएको सुनाउँदै चुनाव जित्ने सम्भावना रहेको संश्लेषण गरेका थिए । त्यसैले माओवादी केन्द्रको पक्षमा नतिजा निकाल्ने गरी अझै मिहिनेत गर्न उनले नेताहरुलाई निर्देशनसमेत दिएका थिए ।