मनाङ– तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ । समुन्द्रि सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो संसारको सबैभन्दा अग्लो स्थानको ताल हो ।
पहिले मनाङको चामेदेखि खाङसार हुँदै तिलिचो पुग्ने पदमार्ग प्रयोगमा रहेको भए पनि अहिले जोमसोमबाट ठिनी, नमखुलेक, निलगिरि आइसफल, छेमा ताल, र मेसोकोन्दो पास हुँदै तालसम्मको यात्रा गर्न सकिन्छ।
गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनका अनुसार यो नयाँ मार्गले विशेषगरी आन्तरिक पर्यटकहरुको आकर्षण बढाएको छ।
मुस्ताङको सदरमुकाम जोमसोमदेखि गाउँपालिका–५ ठिनी भएर तिलिचो तालमा पर्यटक जान थालेका हुन् । यसअघि मनाङको चामेदेखि खाङसार हुँदै तिलिचो ताल जोड्ने पदमार्ग प्रयोगमा थियो ।
गाउँपालिकाका अध्यक्ष लालचनले जोमसोम–ठिनी–नमखुलेक, निलगिरि आइसफल, छेमा ताल, मसोकोन्दो पास हुँदै तिलिचो ताल जोड्ने पदमार्गलाई आन्तरिक पर्यटकले प्रयोग गर्न थालेका बताए । ‘गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले तिलिचो ताल जोड्ने पदमार्ग निर्माण भएको छ,’ उनले भने, ‘यो पदमार्ग भएर दुई दिनमै पर्यटक तिलिचो ताल जान र आउन थालेका छन् ।’
आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले विभिन्न शीर्षकमा ५० लाख बजेट बिनियोजन गरेको तिलिचो ताल जोड्ने पदमार्ग मर्मत तथा स्तरोन्नति योजनाका लागि एक्यापले पनि १० लाख खर्च गरेको छ ।
गाउँपालिकाका रोजगार संयोजक शर्मीला श्रीसले प्रधानमन्त्री रोजगार कार्यक्रमको २१ लाख ४९ हजार र गाउँपालिकाको थप २८ लाख ५८ हजार बजेटबाट वडा नम्बर ४ र ५ को विभिन्न ठाउँमा २२ किलोमिटर पदमार्ग बनाएको जानकारी दिइन्।
झोर खोलादेखि–नमखुलेंक खर्क–निलगिरि आइसफल–छमा ताल पहुँच मार्गको सोचिलेंक सम्म पदमार्ग निर्माण तथा स्तरोन्नति गरिएको रोजगार संयोजक श्रीसले बताए । एक्याप मार्फत पाँच हजार १२० मिटर उचाईमा रहेको मेरोकोन्दो पास क्षेत्रमा ९५० मिटर पुरानो पदमार्ग मर्मत र ६०० मिटर नयाँ पदमार्ग निर्माण गरिएको बरिष्ठ रेञ्जर सञ्जोक थकालीले जानकारी दिए ।
प्राकृतिक सौन्दर्ययुक्त तिलिचो ताल, नीलगिरि हिमाल, नमखु लेक, हिमचितुवाको बासस्थान, धुम्बा ताल, ह्यारझु भ्यु प्वाइन्ट, ठिनीगाउँ, ऐतिहासिक घरफझोङ किल्ला, कैश्याङ क्याम्प, थकाली कला र संस्कृति, भेडा च्याङग्रा तथा चौरीको गोठ यस पदमार्गका आकर्षण हुन् ।
पदमार्गमा होटल र रेष्टुरेन्टको सुविधा नहुँदा यात्रुहरूले आफैँ खाने र बस्ने सामग्री बोक्नुपर्ने बाध्यता रहेको छ।
जोमसोमदेखि दुई घण्टा सवारी साधन प्रयोग गरेर र थप छ घण्टा पैदल हिँडेर मेसोकोन्दो पास पुग्न सकिन्छ। त्यहाँबाट करिब एक घण्टा पैदल यात्रा गरेपछि तिलिचो ताल पुग्न सकिन्छ।