मकवानपुर– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा बोकेर आन्दोलन सुरु गर्ने बताएका छन् ।
शनिबार मकवानपुर आएका प्रचण्डले अब मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरेर मात्रै राजनीतिबाट विश्राम लिने उनले दाबी गरे ।
मकवानपुरको थाहा नगरपालिकामा शनिबार योङ कम्युनिस्ट लिग (वाइसीएल) को नगर अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाबाट ५ वर्षको स्थायी सरकार नबनेसम्म मुलुकमा बेथिति र भ्रष्टाचारको अन्त्य नहुने बताए ।
मेचीदेखि महाकालीसम्म माओवादी र प्रचण्डमाथि नागरिकमा ठूलो भरोसा देखिएको भन्दै उनले मुलुकले नयाँ विकल्प खोजिरहेको आफूलाई महसुस भएको बताए । ‘नयाँ जिम्मेवारी बोधले नयाँ आन्दोलन र नयाँ क्रान्तिको नेतृत्व लिनुपर्छ भन्ने लागेको छ । बेथिति, भ्रष्टाचारविरूद्ध नयाँ आन्दोलन र अभियान चलाउन पर्ने भएको छ’, प्रचण्डले भने, ‘प्रचण्ड थाकेको छैन, थाक्दैन पनि ।’
कांग्रेस र एमालेसँगको लामो संगतले माओवादी बिग्रिएको भन्दै उनले अब नागरिकसँग माफी मागेर अघि बढ्ने बताए ।
पूर्वप्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमालेप्रति जनताको आक्रोश र असन्तुष्टि दिनदिनै बढिरहेको जिकिर गरे । विपदका बेलामा पीडितको घरदैलोमा पुग्दा सरकार कहाँ छ थाहा छैन भन्दै आफूलाई भरोसा गरेको उनले दाबी गरे ।