काठमाडौं– मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ खुँदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आगामी तीन महिनाभित्र यो सबस्टेसनका काम सक्ने गरी अन्तिम चरणका कामहरू भइरहेको छ ।सोही आयोजना अन्तर्गत मनाङको नासो गाउँपालिका-१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन पनि डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार धारापानी सबस्टेसन रहने ठाउँको जमिन सम्याउने तथा पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचना निर्माण धमाधम भइरहेको छ ।
धारापानी र खुँदी सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, १०० एमभीए तथा १३२/३३ केभी, ३० एमभीए र २२०/१३२ केभी, १६० एमभीए तथा १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्मरहरू रहनेछन् । दुवै सबस्टेसनमा स्थानीय रूपमा विद्युत् आपूर्तिका आवश्यक व्यवस्था गरिएको छ ।
यी दुवै सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि लमजुङ र मनाङको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने विश्वास प्राधिकरणको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गर्दै जनशक्ति थप गरी प्रसारण लाइन तथा सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरे ।
सबस्टेसन तथा प्रसारण लाइन निर्माण प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिका लगायत विषयमा आयोजना व्यवस्थापन, निर्माण व्यवसायीसँग उनले छलफल गरेका थिए ।