काठमाडौं– अजरबैजानमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा नेपालबाट तीनजना सहभागी हुनुपर्नेमा ३० जना जाने भएका छन्।
वन तथा वातावरण मन्त्रालयले कुनै पनि भूमिका नभएका दुई दर्जनभन्दा बढी कर्मचारी र असम्बन्धित व्यक्तिलाई विज्ञका रूपमा मनोनयन गरेर ३० जनालाई ‘युनाइटेड नेसन्स क्लाइमेट चेन्ज फ्रेमवर्क कन्भेन्सन (युएनएफसिसिसी)’ मा सहभागी गराउने भएको हो।
सम्मेलनमा भाग लिन जानेमा कर्मचारीसँगै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीका स्वकीय सचिव लेकविक्रम शाही र छोरा राजेन्द्र शाही पनि छन्।
सम्मेलनमा मन्त्री, सचिव र महाशाखा प्रमुख एकजनाबाहेक अन्य कुनै कर्मचारीको काम नभएको मन्त्रालयका एक कर्मचारीले बताए। ती कर्मचारीका अनुसार कुम्भ मेला भएकाले मन्त्रालयका कर्मचारी विभिन्न विकास साझेदार अन्तर्राष्ट्रिय संघसंस्थासँग सहयोग मागेर त्यहाँ जान लागेका हुन्।
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाले सम्मेलनमा केही कर्मचारी जान लागेको पुष्टि गरे। ‘सबै सम्बन्धित कर्मचारी नै जानुहुन्छ तर आयोजक संस्थाले तीनजनाको मात्रै खर्च बेहोर्नेछ’, उनले भने।
कात्तिक २६ देखि मंसिर ७ सम्म अजरबैजानको बाकु सहरमा हुने उक्त सम्मेलनमा सहभागी हुने कर्मचारीको सूची तयार भइसकेको र केही गइसकेका छन्। मन्त्रालय स्रोतका अनुसार वन तथा वातावरणमन्त्री शाही, राज्यमन्त्री रूपा विकसहित ३० जना कर्मचारी मन्त्रालयबाट बाकु जाने भएका हुन्।
मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख सिन्धु ढुंगाना भने अजरवैजान पुगिसकेको ती कर्मचारीले बताए।