काठमाडौं- नेकपा एमालेले लुम्बिनी प्रदेशको रुकुमपूर्वमा रहेको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचनलाई उम्मेदवार बनाउने भएको छ ।
उनी एमाले जिल्ला कमिटीको उपसचिव हुन् ।
मंसिर १६ गते हुने उपनिर्वाचनमा एमालेले तुलाचनलाई उम्मेदवार बनाउने भएको हो । त्यस्तै वडा नम्बर २ को वडाध्यक्षमा जीवन रोका मगरलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।
सम्बन्धित पालिका कमिटीमार्फत उपाध्यक्षमा ३ र वडाध्यक्षमा २ जनालाई जिल्ला पार्टीले सिफारिस गरेर प्रदेश कमिटीमा पठाएको र त्यसैमध्येबाट २ जनालाई उम्मेदवार बनाउने तय भएको एमाले रुकुम पूर्वले जनाएको छ ।
यसअघि माओवादी केन्द्रबाट निर्वाचित भएकी पालिका उपाध्यक्ष भूपेन्द्र बुढा र वडाध्यक्ष जसबहादुर सिर्पालीको गत भदौ २८ गते बागलुङमा जिप दुर्घटनामा परी निधन भएपछि उक्त पद रिक्त भएको थियो ।