काठमाडाैं -काठमाडाैंकाे वायु प्रदूषण बढेको छ । मुख्य कारण तिहारका बेला पड्काउने पटका रहेको विज्ञले बताएका छन् । पटका मात्रै नभएर अन्य कारणले पनि अबका दिनमा प्रदूषण थप बढ्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।
‘एयर क्वालिटी इन्डेक्स’ ले हिजो बेलुका काठमाडाैंको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६० देखाएको थियो ।
एक्युआई शून्यदेखि ५० राम्रो अर्थात् ग्रीन मानिन्छ । ५१ देखि एक सयसम्मको एक्युआईलाई पहेँलो अनि एक सय एकदेखि एक सय ५० सम्मलाई अस्वस्थकर मानिन्छ । यसले मुख्यगरी श्वासप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ । एक सय ५१ देखि दुई सयसम्मको एक्युआईलाई पनि अस्वस्थ तर सबैलाई असर पार्ने हुन्छ । दुई सय एकदेखि तीन सयलाई धेरै अस्वस्थकर मानिन्छ ।
काठमाडाैं उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले एक्युआईको मान तीन सयभन्दा धेरै भएको अवस्थालाई विपद्को रूपमा लिने उल्लेख छ ।
पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरु जस्तै सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड र धुलोका कणहरु वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन वातावरणविद्ले आग्रह गरेका छन् ।