काठमाडौ– सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागिएको हो।
ओलीले खासगरी एकीकृत समाजवादी विभाजन गर्नका लागि अध्यादेश ल्याउन लागेका हुन्। समाजवादीभित्र अहिले असन्तुष्टि चुलिएको अवस्था छ।
यही बेला विभाजन गरेर समाजवादीलाई थप कमजोर पार्ने र नयाँ पार्टीमा जाने सांसदहरुलाई एमालेमा भित्र्याउने योजना अनुसार अध्यादेश ल्याउन लागिएको स्रोतले बतायो।
अहिलेको कानुनी व्यवस्था अनुसार समाजवादी विभाजन गर्न मिल्दैन। कुनै पनि पार्टी विभाजन भएर बनेको दल ५ वर्षसम्म फुटाउन नपाउने कानुनी व्यवस्था छ। समाजवादी एमाले फुटाएर तीन वर्षअघि गठन गरिएको हो। त्यही कारण ५ वर्षे व्यवस्था हटाएर अध्यादेश जारी गर्न लागिएको हो।
अध्यादेशको मस्यौदा तयार भइसकेको छ। प्रधानमन्त्री ओली अहिले बालुवाटारमा मस्यौदामाथि छलफलमा छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने संवैधानिक व्यवस्था छ।
तर, राष्ट्रपति रामचन्द्र पौडेल सरकारले अध्यादेश जारी गर्न सिफारिस गरेको अवस्थामा केही दिन होल्डमा राखी छलफल गर्ने तयारीमा छन् ।
सरकारको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले समेत अध्यादेशमा अनिच्छा देखाइरहेको छ।
प्रतिक्रिया