पाेखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू न्याय प्रक्रियालाई सघाउन आएको बताएका छन् । आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुने क्रममा उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘ म न्याय प्रक्रियालाई सघाउन आएको छु ।’
उनले राज्य सत्ता कब्जा गर्ने, आफ्नो बर्चस्व कायम गर्ने सरकारको योजना रहेको समेत उनले बताए ।
उनले प्रधानमन्त्री केपी ओलीको सरकार रहिरहने हो भने देशले धेरै दुःख पाउने समेत बताए । उनले भने, ‘यो सरकारका विरुद्ध देशैभरिबाट जनता बाहिर आउनुपर्छ। मेरो लागि होइन देशको लागि सबै आउनुपर्छ ।’
लामिछानेले यो सरकार रहँदासम्म झुटा मुद्दामा फसाउने काम निरन्तर चलिरहने समेत बताए ।
सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको भन्दै लामिछानेले आक्रोश पोखे । ‘मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो’, उनले भने ।