काठमाडौं- प्रधानमन्त्री केपी ओलीले बाढी, पहिरो र डुबानपछिको अवस्थामा राहत र पुनर्स्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने दाबी गरेका छन्।
नेकपा (एमाले)को सिन्धुली जिल्ला कमिटीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिका सम्बन्धमा आइतबार प्रधानमन्त्रीनिवास, बालुवाटारमा दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्।
उनले पछिल्ला मन्त्रिपरिषद्का बैठक र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का बैठकबाट समयतालिका तोकेर राहत र पुनर्स्थापनाका काम प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरिएको जानकारी दिए।
‘सरकारका सबै सम्बन्धित अंगले पीडितका पक्षमा सक्दो काम गरिरहेकाले अराजकता र अस्थिरता मच्चाउन चाहनेहरूले फैलाएका अनावश्यक भ्रम चिरेर ढुक्कसाथ आफ्नो जिम्मेवारी पूरा गर्नुहोला,’ उनले भने।