काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने बताएका छन् ।
आफूले बोलाएको विपक्षी दलहरुको बैठकमा प्रचण्डले तीन दलको बैठकमा भएको छलफलका आधारमा यस्तो विश्लेषण सुनाएका हुन् ।
टीआरसीबारे छलफल गर्न बुधबार बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबारे समेत छलफल भएको थियो ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्कहरु सुन्दा सरकार अगाडि बढ्न खोजेको देखिएको प्रचण्डले सुनाए ।
माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले पनि लामिछानेलाई पक्राउ गर्ने सरकारी तयारीबारे कुरा भएको बताए। उनले कानुन अनुसार पक्राउ गर्नुपर्ने अवस्थामा विपक्षीले बाधा नगर्ने तर सरकारले राजनीतिक प्रतिशोध साँध्न नहुने विषयमा कुरा भएको जानकारी दिए।
‘यो विषयमा स्पष्ट कुरा छ। टीआरसी सम्बन्धी बैठकमा पनि अध्यक्षले स्पष्टसँग कुरा राख्नु भएको थियो। कानुन अनुसार अघि बढ्ने कुरामा त स्वयम् रास्वपाले पनि अवरोध गर्ने कुरा गरिरहेको छैन। तर, राजनीतिक आग्रह पूर्वाग्रहको संकेत देखिनुहुँदैन,’ उनले भने। बिहिबारको बालुवाटार बैठकमा बस्नेत पनि सहभागी थिए।
लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न रहेको भन्दै संसदीय छानबिन विशेष समितिले कारबाही गर्न सिफारिस गरी एक महिनाअघि प्रतिवेदन बुझाएको थियो।