काठमाडौं– बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भाडा बढाएका छन् ।
एकातिर हवाई कम्पनीले अन्य समयको भन्दा बढी भाडा लिएका छन् भने अर्को तर्फ यात्रुले हवाई टिकट पाएका छैनन् । महँगोमा टिकट किन्न तयार हुँदा पनि टिकट नपाइएको हवाई यात्रुको गुनासो रहेको छ ।
हवाई कम्पनीहरूले अकुपेन्सीका आधारमा सामान्य अवस्थामा ७० प्रतिशत न्यूनतम भाडादरमा हवाई टिकट बेच्ने गरेका थिए भने १५ प्रतिशत मध्यम दर र त्यसपछि १५ प्रतिशत उच्चतम भाडादरमा बेच्ने गरेका थिए । तर अहिले प्राकृतिक विपद् र दसैँको अवसरमा उनीहरूले मौका छोपेर न्यूनतम दरका टिकट नै उपलब्ध नगराएको गुनासो यात्रुको रहेको छ ।
वायुसेवा सञ्चालक संघले आन्तरिकतर्फको हवाई टिकट न्यूनतम हवाई भाडादरमै बेच्ने निर्णय गरे पनि त्यो निर्णयमै सीमित भएको छ र उनीहरूले सरकार र यात्रुलाई झुक्काएको पाइएको छ ।
दसैँको अवसरमा धेरै जस्तो टिकट अग्रिम बुकिङ गरिसकेर संघले सस्तो टिकट उपलब्ध गराउने निर्णय गरेको देखिन्छ ।
अहिले हवाई कम्पनीहरूले न त सस्तो दररेटमा टिकट नै बेचेको छ न त टिकट उपलब्ध नै रहेको छ । सडक सञ्जालबाट आफ्नो गन्तव्यमा जान नसकेको अवस्थामा हवाई टिकट पनि उपलब्ध नभएपछि यात्रु मर्कामा परेका छन् ।
अर्को तर्फ संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले हवाई भाडा कम गरेको दाबी गर्दै सस्तो प्रचार गरिरहेको भए पनि उनको पहलले यात्रुलाई कुनै फाइदा पुग्न सकेको छैन ।
मन्त्री पाण्डे अहिले अनलाइनमा टिकट नै उपलब्ध नभएको र उपलब्ध भएका टिकट पनि सामान्य समयको भन्दा करिब दोब्बर भाडा रहेकोप्रति बेखबर रहेको देखिन्छ ।
याे पनि,
हवाई भाडा कम भएन, झुटो देखियो मन्त्रीको दाबी
वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !