काठमाडाैं -बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो । आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार पनि बाढीमै मिसिए । तीमध्ये चार जनाको मात्रै शव फेला पर्यो । बाढीले उनीहरुका परिवारको खुसी उजाडियो । लालाबाला टुहुरा भए । आयोजना एकाउक खण्डहरमा परिणत भयो । करोडौ मूल्यका सामान बाढीले बेपत्ता बनायो । हेवा खोलाको बाढीको वितण्डाले उठ्नै नसक्ने गरी समस्यामा पारिदिएको आयोजनाको नाम हो ‘सुपर हेवा पावर कम्पनी’ ।
सिन्धुपाल्चोकका निमा लामा पहिलो पटक जलविद्युत् आयोजनामा जोडिएर लगानी गरेको थियो । आयोजनाबाट बिजुली बाल्ने अन्तिम तयारी हुँदा गर्दा २०८० असार १ र २ गतेको अविरल वर्षापछिको बाढीले दिएको दुःख भूल्दै फेरि निर्माणमा जुटेका लामालाई यस वर्षपनि गत वर्षकै पीडा दोहोरियो ।
गत वर्षको बाढीले आयोजनाको पाइप र अन्य निर्माण सामग्री बगाएको थियो । त्यो बेला झण्डै ४० करोड बराबरको क्षति भएको थियो । निर्माण व्यवसायीले बीमा नगर्दा क्षतिपूर्ति पाउन समेत समस्या भयो ।
उपकरणको भन्दा पनि मानव जीवनको क्षति ठूलो भयो । बेपत्ता भएका बर्दियाका कामदारको अवस्था हालसम्म पत्ता लागेको छैन । निर्माणमा संलग्न मजदुर छोराछोरी जस्तै प्रिय थिए । आफ्ना प्रिय मान्छेहरुलाई खोलाले निलेपछि निमाको आँखा धेरैदिन ओभानो भएन । ‘म धेरै दिनसम्म रोएँ । मलाई असाध्यै नरमाइलो लागिरह्यो । मेरो आयोजनामा काम गर्न आएका मजदुरको शव समेत हालसम्म फेला परेको छैन । फेरि त्यस्तै कहर यसपटक पनि आयोजनाले खेप्नु परेको छ’, उनले भने ।
बीमालगायत प्रत्येक मजदुरका परिवारलाई आठ लाख बराबरको राहत उपलब्ध गराइए पनि मानव जीवनको क्षतिपूर्ती कसरी हुँदो हो र?, ‘आयोजनाको फेरि निर्माणका लागि भन्सारमा सामान रोकियो । अनेकन हण्डर ठक्कर व्योहोरेर पुनः आयोजना सुरु गर्दा नगर्दै समस्या दोहोरियो ।’
गत वर्ष जनधन दुवैको क्षति भएको भएपनि यस वर्ष मानव क्षति भने भएन । यसैमा खुसी छन् निमा । चैनपुर सिद्धपोखरीदेखि आयोजनास्थल मुच्छेबुङसम्म पुग्ने पहुँचमार्गको छ किलोमिटर खण्डको दर्जनौ स्थानमा पहिरो गएको छ । नियमित काम हुन पाएको भए आगामी कात्तिक मसान्तसम्म आयोजनाबाट बिजुली उत्पादन हुने थियो । तर यसपटक पनि प्राकृतिक विपत्तिका सामू उहाँको केही लागेन । हेवामा गत वर्षको जस्तै बाढी आयो । क्षति पुर्यायो । बिजुली बाल्ने सपना पर धकेलियो ।
निमाले कुराकानीमा भने, “प्राकृतिक विपत्तिले दिनुसम्मको दुःख दियो ।” कुल छ मेगावाट क्षमताको सो आयोजना आकर्षकमध्येको एक हो । जलविद्युत् क्षेत्रमा लगानी गर्ने मनसाय राखेर ठूलो दुःखका साथ लागिपरेको भएपनि प्रकृतिसँग केही नलागेपछि दुःखी भइन्छ ।
सरकारी निकायले समन्वय नगर्दा भन्सारमा सामान रोकिने, निर्माणको काम गतिका हुन नसक्दा दिनप्रतिदिन लागत बढेको उहाँ सुनाए । बाढीका कारण सिभिल काम, इन्टेक, बालुवा थिग्रयाउने पोखरी, बाँध, विद्युत् गृह, टेलरेसलगायतका संरचनामा क्षति पुगेको थियो ।
नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौताअनुसार विद्युत् जोड्ने समय २०८० असार ३१ गते थियो । बाढीले ती सबै लक्ष्यमाथि तुषारापात गरिदिएको भनाइ छ । अब त सरेर आगामी माघसम्म पुग्ने होला भन्ने चिन्तामा छ।
गत वर्षको बाढी र यस वर्षको बाढीले धेरै जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । गत वर्ष मात्रै निर्माणमा रहेका १८ वटा परियोजनामा क्षति पुगेको थियो । त्यसबाट मुलुकले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ । यही असोज ११ र १२ गतेको अविरल बर्षाका कारण नदीहरुमा आएको बाढीका कारण ३६ आयोजनामा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले जनाएको छ । यसपटकको बाढीले दुई अर्ब ५० करोड बराबरको क्षति पुर्याएको छ ।
क्षतिको विवरण सङ्कलन काम भइरहेकाले केही बढ्न सक्ने देखिन्छ । गत वर्षको बाढीले १० अर्ब बराबरको क्षति भएको इप्पानले दाबी गरेको थियो । गत वर्ष पूर्वी नेपालमा मात्रै क्षति भएको भएपनि यस वर्ष धेरैतिर भएको अनुमान छ ।
इप्पानका अनुसार यस वर्षको बाढीबाट ३६ वटा आयोजना प्रभावित भएका छन् । त्यसमा सबैभन्दा बढी क्षति बाग्मती साना जलविद्युत् आयोजनाको भएको छ । सो आयोजनाको रु एक अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । सो आयोजना २२ मेगावाट क्षमताको हो ।
यस वर्ष बाढीका कारण माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२ दशमलव एक मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको छ । सो आयोजना गत वर्ष पनि बाढीबाट प्रभावित भएको थियो । हाल उक्त आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ ।