काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो ।
सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेल र मट्टीतेलमा २-२, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।
एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएपनि चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ ।
एलपी ग्याँसमा हाल प्रति सिलिण्डर २६९ रुपैयाँ ८० पैसा घाटा रहेको निगमले जनाएको छ ।
समायोजित मूल्य अनुसार पेट्रोल पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ कायम भएको छ। यस्तै डिजेल र मट्टितेल पहिलो वर्गमा १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रोमा १४७ रुपैयाँ कायम भएको छ।
आन्तरिक हवाई इन्धन प्रति लिटर १२६ रुपैयाँ कायम हुने छ। अन्तर्राष्ट्रिय हवाई इन्धन काठमाडौंमा प्रति किलोलिटर अमेरिकी डलरमा ९६० तथा भैरहवा र पोखरामा ८६० कायम हुने छ।