+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिका भ्रमणको उपलब्धि सोध्दा प्रधानमन्त्रीको जवाफ- भैंसी दुहुन गएर दूध लिएर आएको जस्तो होइन

पालिका लाइभ
२०८१ आश्विन १४, सोमबार १८:५९ गते

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले काठमाडौंमा यति डुबान होला भन्ने कल्पना नगरिएको बताएका छन्। विपतको संवेदनशील समयमा विरोध गरेर परिस्थिति झन् बिगार्न खोजिएको उनको भनाइ छ।

दशदिने अमेरिका भ्रमण सकेर सोमबार अपराह्न काठमाडौं आइपुगेका प्रधानमन्त्री ओलीले जल तथा मौसम विज्ञान विभागले ५६ जिल्लामा रेडअलर्ट जारी गरे पनि कहाँ–कहाँ पहिरो जान्छ भनरे पूर्वानुमान नभएको बताए।

त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीलाई सञ्चारकर्मीले रेडअलर्ट जारी गरे पनि सरकार किन गम्भीर बनेन भनेर सोधेका थिए। जवाफमा उनले भने, ‘म तपाईंलाई सोध्न चाहन्छु, फोरकास्ट गरेको छ, रेडअलर्ट भनेर तर, कहाँ-कहाँ पहिरो जान्छ त भनेको थिएन। गएपछि थाहा हुने कुरा भयो।’

उनले विमानस्थलमा भ्रमणको उपलब्धि सोध्ने सञ्चारकर्मीलाई ‘भ्रमण भैंसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको फर्काएका हुन्।

‘म कुनै भैंसी दुहुन गएर दूध लिएर आएँ भनेजस्तो होइन, हाम्रा समस्या र विचार राख्ने काम भयो,’ उनले भने, ‘अल्पविकसित देशहरूले बढी भोग्नुपरेको क्षति र मार जुन छ, क्षति पुर्‍याउने कुरामा हात नभए पनि बढी मार सहनुपरेको छ। त्यसमा विश्व समुदायको ध्यान जानुपर्छ। जसले बढी बिगारेको छ, उसले बढी क्षतिपूर्ति व्यहोर्नुपर्छ। बिगार्नेले सपार्न पनि लगानी गर्नुपर्छ।’

अमेरिकाबाट फर्केपछि विमानस्थलमा ओली आफैंले भ्रमणबारे जानकारी गराउन पत्रकार सम्मेलन राखेका थिए।

उनले अब सरकारले उद्धार र राहतको काम अझै प्रभावकारी रूपमा सञ्चालन गर्ने दाबी पनि गर्दै सरकारले सहायता र राहतमा कसर बाँकी नराख्ने जनाए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics