काठमाडौं– वायुसेवा सञ्चालक संघले अधिकतम मूल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्काएको छ । आइतबार संघले असोज १६ गतेसम्म नेपाल सरकारले तोके बमोजिम लिँदै आएको अधिकतम मूल्य (अपर लिमिट) को भाडदरमा टिकट नबेच्ने निर्णय गरेको थियो ।
अहिले सडक सञ्जाल अवरुद्ध रहेको समयमा दुई दिन देखि तीनसम्मको टिकट अग्रिम बुकिङ भइसकेको अवस्थामा संघले तीन दिन अधिकतम मूल्यमा टिकट नबेच्ने भन्दै झुक्काएको हो । अहिले उपलब्ध अनलाइन र विमान कम्पनीका वेभसाइटहरुमा पनि १६ गतेसम्मका टिकट उपलब्ध रहेको छैन ।
वायुसेवा कम्पनी यति एयरलाइन्सको वेबसाइटमा असोज १६ गते काठमाडौँ देखि भैरहवाको भाडा दर ८ हजार ५५५ देखाएको छ । जबकि यसअघि सामान्य अवस्थामा यतिले यही रुटमा ५ हजार २ सयमा टिकट बेचिरहेको थियो । त्यस्तै ई सेवामार्फत हेर्दा १७ गतेका लागि ६ हजार २२२ टिकट दर देखाएको छ ।
संकटको अवस्था साथै चाडपर्वको अवसरमा वायुसेवा कम्पनीले भाडामा मनोमानी गर्ने गरेको पहिलो पटक भने होइन । हरेक वर्ष चाड पर्वमा हवाई भाडा दर आकासिने गरेको पाइन्छ । तर सरकार र नियमन निकाय भने अहिलेसम्म एक्सनमा आएको पाइँदैन ।
संघले आइतबार भनेको थियो- संघमा आबद्ध सबै वायुसेवा कम्पनीहरूले यस विपद्को घडीलाई मध्यनजर गर्दै मिति २०८१ असोज १४ गते सोमवार देखि मिति २०८१ असोज १६ गते बुधवारका दिनसम्म नेपाल सरकारले तोके बमोजिम लिँदै आएको अपर लिमिटको भाडदारमा टिकट नबेच्ने निर्णय गरियो ।’
अर्को तर्फ पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्री पाण्डेले पनि सचिवालय मार्फत मन्त्रीको पहलमा वायुसेवा कम्पनीले टिकटको मूल्य घटाएको झुटो प्रचार गरे । तर आम यात्रुले १६ गतेसम्म टिकट नै नपाएको अवस्थाको आकलन मन्त्री स्वयंले गर्न सकेको देखिएको छैन ।
मन्त्री पाण्डेको सचिवालयले आइतबार भनेको थियो-
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको विशेष पहलमा वायु सेवा कम्पनीहरूले केही दिनका लागि अधिकतम भाडदारमा टिकट नबेच्ने निर्णय गरेका छन् ।
मन्त्रालयको पहलमा नागरिक उड्डयन प्राधिकरणसँग आज बसेको बैठक पछि हवाई कम्पनीहरूको संस्था वायुसेवा सञ्चालक संघ नेपालले विज्ञप्ति जारी गरी सरकारले तोकेको अधिकतम भाडदारमा केही दिनका टिकट नबेच्ने निर्णय गरेका हुन । देशमा हालै भएको बाढी पहिरोको विपतका कारण उत्पन्न समस्यालाई मध्यनजर गरी सोमबारदेखि बुधवारसम्मका लागि अधिकतम दरमा टिकट नबेच्ने निर्णय गरेको जनाएको छ ।
विपद्का बेला राजमार्गहरू बन्द भएको र यात्रुहरू अफ्टयारो परेका समयमा सरकारले तोकेको अधिकतम दरमा टिकट विक्री गर्दा स्वधारणलाई समस्या भएको व्यापक गुनासो पछि मन्त्रालयले भाडा घटाउन पहल गरेको थियो ।