काठमाडाैं– गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३९ जना नेपालीहरूले रक्तदान गरेका छन् ।
गैर आवासीय नेपाली संघ र नेपाली रक्तदाता संघ कतारको समन्वयमा हमाद अस्पतालको ब्लड डाेनेसन सेन्टरमा कार्यक्रम सम्पन्न भएको महासचिव ध्रुवराज अधिकारीले जानकारी दिए ।
‘रक्तदान नै जीवन दान हो, रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ विविध गतिविधि गर्दै कतारमा रहेका नेपालीहरूले रक्तदान कार्यक्रम गर्दै आइरहेका छन् ।
सामाजिक सेवाको लागि गैर आवासीय नेपाली संघ कतार सेवाभावले ओतप्रोत रहेको, नेपाली वा विदेशी जो कोहीले रगत अभावमा ज्यान गुमाउन नपरोस्, मानवीय र परोपकारी कार्यले अन्य देशका कम्युनिटिसंग मैत्रीपूर्ण सम्बन्ध रहने हुँदा यस्ता कार्यक्रमको आवश्यकता रहेको संघका अध्यक्ष सुनिल घिमिरेले बताए ।
उक्त रक्तदान कार्यक्रममा एनआरएनए मध्यपूर्वका संयोजक रामचन्द्र पन्त, बुद्धिजीवी बुधवल गुरुङ, कपिल भारतीलगायत कतारमा स्थापित सामाजिक तथा वैचारिक संस्था, विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिसहितको बाक्लो उपस्थिति रहेको थियो ।
विज्ञान र प्रविधिले विभिन्न आविष्कार गरिसक्दा पनि कृत्रिम रगत बनाउन नसकिरहेको परिप्रेक्ष्यमा स्वस्थ व्यक्तिले दान गरेको रगत नै आवश्यक पर्ने बिरामीका लागि वरदान साबित हुने हुँदा मानव जीवन बचाउने रक्तदानलाई सुरक्षित र स्वयंसेवी रूपमा अभिवृद्धि आजको आवश्यकता हो ।